काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेलतालिका परिमार्जन गरिएको छ। यसअघि १ सेप्टेम्बरमा हुने भनिएको नेपालको पहिलो खेल अब ३१ अगस्टमा हुने भएको छ।
समूह ‘ए’ मा रहेको नेपालले प्रतियोगिताको पहिलो खेलमा ३१ अगस्टमा बहराइनसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल रहेको समूहमा बहराइनसँगै हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया छन्। यस्तै, समूह ‘बी’ मा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्।
नेपालले समूह चरणको दोस्रो खेलमा ३ सेप्टेम्बरमा आयोजक मलेसियासँग खेल्नेछ। त्यसपछि ६ सेप्टेम्बरमा साउदी अरेबिया र ८ सेप्टेम्बरमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलपछि तेस्रो स्थानका लागि खेल र फाइनल आयोजना हुनेछ।
ओडीआई फर्म्याटमा हुने प्रतियोगिताको विजेता टोलीले आगामी वर्ष आयोजना हुने एसिया कपमा स्थान सुरक्षित गर्नेछ।
प्रतियोगिताका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ।
नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इसान पाण्डे, गुल्सनकुमार झा, शेर मल्ल, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा।