विदेशबाट मताधिकार दिनेबारे निर्वाचन आयोगले थाल्यो अध्ययन

nepaltext

काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ।

यससम्बन्धी आवश्यक तयारीका लागि आयोगले बुधबार बसेको बैठकबाट दुई छुट्टाछुट्टै समिति गठन गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा सूचना प्रविधिसम्बन्धी सुधारका विषयमा अध्ययन गर्न समिति गठन गरिएको हो।

उनका अनुसार दुवै समितिले काम सुरु गरेको मितिले ३० कार्यदिनभित्र प्रतिवेदन पेस गर्नेछन्।

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार प्रदान गर्न आवश्यक कानुनी व्यवस्थाबारे अध्ययन गर्न निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहनेछन्।

त्यस्तै, निर्वाचन प्रक्रियामा सूचना प्रविधिको प्रयोगमार्फत निर्वाचनलाई थप समयानुकूल, सुरक्षित, पारदर्शी, प्रभावकारी, समावेशी र विश्वसनीय बनाउन आवश्यक सुधारबारे अध्ययन गर्न निर्वाचन आयुक्त डा. राजीव सुब्बाको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ।

उक्त समितिमा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र, नेपाल प्रहरीको साइबर ब्युरोलगायत सम्बन्धित निकायका प्रतिनिधि रहने आयोगले जनाएको छ।

प्रतिक्रिया