नेकपा एमालेको आशन्न ११ औं महाधिबेशनमा बालकृष्ण शिवाकोटीले केन्द्रिय सदस्य पदमा उम्मेद्धारी दिने तयारी गरेका छन् । लामो समय पार्टीको जिल्ला तथा प्रदेश र विभिन्न भातृ संगठनमा अब्बल कार्यसम्पादन गरिसकेका शिवाकोटी यो पटक भने केन्द्रिय सदस्य पदमा प्रतिस्पर्धाको तयारीमा जुटेका हुन् । उनलाई केन्द्रिय सदस्य पदमा विजयी बनाउन दोलखा सहित बागमती प्रदेशभरका एमालेका अगुवा नेता सहित अन्य भातृ संगठनका जिम्मेवार नेताहरुसमेत लागि परेका छन् । शिवाकोटीलाई नेकपा एमाले को केन्द्रीय सदस्य बनाउन दोलखाली एमालेका कार्यकर्ताहरुले संगठित अभियाननै सुरु गरेका छन् । पार्टीको आगामी महाधिवेशनलाई लक्षित गर्दै दोलखाका नेता–कार्यकर्ताहरूले शिवकोटीको उम्मेदवारीलाई मजबुत बनाउन विभिन्न तहमा छलफल र परामर्श थालेका हुन् ।
गत संघीय निर्वाचनमा झिनो मतान्तरले पराजित भएका शिवकोटीलाई दोलखाको प्रतिनिधि आवाजका रूपमा केन्द्रीय कमिटीमा पु¥याउनुपर्ने उनीहरूको धारणा छ । स्थानीय नेताहरूका अनुसार, शिवाकोटी जिल्लाको राजनीतिक, सामाजिक र आर्थिक विकासमा निरन्तर सक्रिय रहँदै आएका व्यक्तित्व हुन् ।
उद्योग व्यवसाय क्षेत्रमा पहिचान बनाएका शिवाकोटी समाजसेवाको क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । विपद्, आपतकालीन अवस्था तथा जनताका सुख–दुःखमा निरन्तर साथ दिँदै आएका कारण उनीप्रति आम जनसमुदायको सकारात्मक भरोसा रहेको बताइएको छ ।
दोलखाका एमाले कार्यकर्ता श्यामसुन्दर शिवाकोटीका अनुसार, बालकृष्ण शिवाकोटी पार्टीभित्र संगठन निर्माणमा दक्ष, जनतामुखी र समर्पित नेता हुन् । उहाँलाई केन्द्रीय सदस्य बनाउँदा पार्टी थप क्रियाशील र सशक्त बन्ने छ । उनका अनुसार जिल्लास्तरबाट सुरु भएको यो अभियानलाई प्रदेश तथा केन्द्रसम्म व्यवस्थित रूपमा लैजाने तयारी भइरहेको छ ।
पार्टीभित्र अनुभवी नेतृत्वलाई अघि सार्ने र जिल्लाको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले यो अभियान चलाइएको बताइएको छ ।