कोशी प्रदेश सरकारबाट कांग्रेस मन्त्रीहरूले आजै राजीनामा दिँदै

nepaltext

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ। कांग्रेसबाट प्रदेश सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीले बुधबार नै राजीनामा दिने तयारी गरेका छन्।

कांग्रेस नेता उद्धव थापाका अनुसार भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले राजीनामा दिने भएका हुन्।

केन्द्रमा बनेको नयाँ सत्ता समीकरणअनुसार कोशी प्रदेशको मुख्यमन्त्री पद नेकपा (एमाले) को भागमा परेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुसार कोशीमा पनि नयाँ सत्ता समीकरण निर्माणको तयारी भइरहेको छ।

कांग्रेस सरकारबाट बाहिरिएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। नयाँ समीकरणअनुसार एमालेको नेतृत्वमा सरकार गठन गर्ने तयारी गरिएको छ।

कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै कोशी प्रदेशको वर्तमान सत्ता संरचनामा फेरबदल आउनेछ। नयाँ सरकारमा सहभागी हुने दल, मन्त्रालय बाँडफाँट र सरकार गठनको स्वरूपबारे भने सत्ता साझेदार दलहरूबीच थप छलफल आवश्यक देखिएको छ।

प्रतिक्रिया