काठमाडौं । नेपालको दुग्ध क्षेत्रको विकास, दुग्ध उत्पादक कृषकको व्यावसायिक प्रवद्र्धन तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन दुग्ध विकास संस्थान (डिडिसी), कृषि सहकारी केन्द्रीय संघ लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबीच त्रिपक्षीय समझदारी भएको छ।
समझदारीको मुख्य उद्देश्य दुग्ध उत्पादक कृषकलाई बजारको सुनिश्चितता प्रदान गर्नु, दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर र उत्पादन बढाउनु तथा साना किसानलाई वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराई उनीहरूको आयआर्जन वृद्धि गर्नु रहेको डिडिसीले जनाएको छ।
सम्झौताअनुसार तीनवटै संस्थाले आ–आफ्नो जिम्मेवारी स्पष्ट रूपमा बाँडफाँट गरी सहकार्य गर्नेछन्। डिडिसीले साना किसान कृषि सहकारीबाट उत्पादित दूध खरिद गर्ने, बजार व्यवस्थापन गर्ने तथा बढी भएको दूधलाई मखन र धुलो दूधमा प्रशोधन गर्नेछ। साथै, कृषकलाई आवश्यक प्राविधिक सहयोग र प्रोत्साहनसमेत उपलब्ध गराउनेछ।
कृषि सहकारी केन्द्रीय संघले आफ्ना सदस्य दुग्ध सहकारीमार्फत दूध संकलन, चिस्यान तथा डिडिसीसम्म ढुवानीको व्यवस्था मिलाउनेछ। संघले कृषकलाई तालिम प्रदान गर्नुका साथै पशुको नस्ल सुधार र स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछ।
त्यस्तै, साना किसान विकास लघुवित्त वित्तीय संस्थाले दुग्ध उत्पादक सहकारी तथा कृषकलाई पशुपालन, गोठ सुधार र आवश्यक मेसिनरी खरिदका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ। सम्भावित जोखिम न्यूनीकरणका लागि आकस्मिक कोष व्यवस्थापनमा समेत संस्थाले सहयोग गर्नेछ।
दूधको माग र आपूर्तिबीच सन्तुलन कायम गर्दै सञ्चालन तथा भुक्तानी प्रक्रियालाई पारदर्शी बनाउन ‘पिक सिजन’ र ‘लीन सिजन’का लागि दूध खरिदको कोटा निर्धारण गरिनेछ। डिडिसीले खरिद गरेको दूधको भुक्तानी निर्धारित चक्रअनुसार सहकारीमार्फत सिधै कृषकको बैंक खातामा पुग्ने व्यवस्था गरिनेछ।
सम्झौताको प्रभावकारी कार्यान्वयन तथा अनुगमनका लागि तीनवटै संस्थाका प्रतिनिधि सम्मिलित समन्वय समिति गठन गरिनेछ भने प्रत्येक संस्थाबाट ‘फोकल पर्सन’ तोकिने व्यवस्था गरिएको छ।
तीन संस्थाबीचको सहकार्यले ग्रामीण क्षेत्रका दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्नुका साथै नेपालको दुग्ध क्षेत्रमा आत्मनिर्भरता बढाउन र ‘मिल्क होलिडे’ लगायतका समस्याको दीर्घकालीन समाधानमा योगदान पुग्ने अपेक्षा गरिएको छ।