काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम गर्दै राष्ट्रिय एकता सुदृढ गर्न सबैलाई आह्वान गरेका छन्। करिब साढे पाँच महिनापछि काठमाडौं फर्किएका देउवाले आफू कुनै पद वा शक्ति प्राप्तिको उद्देश्यले नभई राष्ट्रिय एकता बलियो बनाउन सक्रिय हुन फर्किएको बताएका हुन्।
काठमाडौं उत्रिएपछि जारी गरेको अपिलमा देउवाले कांग्रेस एकताबद्ध भएर देशमा क्रियाशील अन्य राजनीतिक दलसँग समेत सहमति र सहकार्यका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। पार्टीभित्र देखिएका असहमति, निराशा र विवाद तत्काल समाधान गर्नुपर्ने उनको भनाइ छ।
‘मुलुककै मियो दलमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुनसक्छ,’ देउवाले भनेका छन्। उनले कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक, मतदाता तथा आम नेपालीलाई सामूहिकताको भावनाका साथ अघि बढ्न अपिल गरेका छन्।
कांग्रेस कसैको व्यक्तिगत इगो वा स्वार्थका आधारमा नभई जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने देउवाले बताएका छन्। उनले पार्टीभित्र सबै पक्षले त्याग, बलिदान र संघर्षको भावना आत्मसात् गर्दै एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
देउवाले आफू सत्ता प्राप्तिको उद्देश्यले नभई राष्ट्रिय एकता सुदृढ गर्न सक्रिय भएको स्पष्ट पारेका छन्। उनले २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसङ्ग स्मरण गर्दै अहिले पनि मुलुकमा सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।
‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु,’ देउवाले आफ्नो अपिलमा उल्लेख गरेका छन्।
उनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र विधिको शासनप्रति आफ्नो अटुट प्रतिबद्धता रहेको दोहोर्याउँदै मुलुकको हितका लागि सबै पक्षबीच सहकार्य र एकताको वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।

