बाजुरा । बाजुराका नौवटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका करिब १५० बस्ती बाढीपहिरोलगायत विपद्का घटनाको उच्च जोखिममा छन्।
भिरालो तथा कमजोर भू–बनोट, नदी कटान, अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण बाजुरा समग्रमा विपद्को उच्च जोखिममा परेको हो।
जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ मा जिल्लाका सबै स्थानीय तहलाई बाढीपहिरोको उच्च जोखिममा रहेको उल्लेख गरिएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार जिल्लाका करिब १५० बस्ती जोखिममा छन्।
योजनाअनुसार बडीमालिका नगरपालिकाका घागर, भौनेरा, पाटा, मुसिगाउँ, सेरी, घोगाली, तिपाडी, वलेना, सल्लेरीवाडा, जिल्ली, सिराडी, बाउली र गडखेत उच्च जोखिममा छन्।
त्यस्तै, बुढीगंगा नगरपालिकाका कुडी, बल्दे, नडाङ, गड्तोला, बसाली, साउबाडा, खोडालबाडा, काटेवाडा, फालासैन, बाम्का बजार, बेतालमाडौं र सेलापाखालगायत बस्ती पनि जोखिममा रहेका छन्।
त्रिवेणी नगरपालिकाका बिसान बजार, सल्लेरी, पिपलसैन, राउतेला, किम्नी, ढोड क्षेत्र गैरे, पन्धारा गाउँ, फल्नेतोला, पन्ताली, ढडाली, बागापाटा, कालापानी, गिरीवाडा, नृपाली टोल, ताम्सु र नुवाकोटलाई पनि उच्च जोखिममा राखिएको छ।
बुढीनन्दा नगरपालिकाका मटेला, पारतोला, पीपलडाली, रावतवाडा, कोल्टी, नुरी, कालगोठी, खुवा, भिडीगाउँ, भुलेना, जैलु, ताडी, घोडाकोट, दैया, लाटोबस्ती, खारगडा, पहेलसेरा, नौलाकोट, शेरकाटीया र खड्कावाडालगायत बस्ती बाढीपहिरोको जोखिममा छन्।
गौमुल गाउँपालिकाका माडी, सिम, अन्द्राडी, दर्गाली, खौला, अम्लिस, डाडा, गताडी, मल्लोदुगन, पौदाली, कहुडा, पाटा, चल्लोकाट्ना, आगर, रनेडा, जडे, तलदुगन, आला, धल्काडा, काटीगाउँ, बेहरी, दल्याडी, गर्जे, पाते, भिराली, बेडुखला, डाडावाडा, कोट, नक्राडा, पडीकोट, शान्तिटोल, बाउनी, टुनी, टाडाकोट र बसालालगायत बस्ती पनि जोखिमपूर्ण अवस्थामा रहेको प्रजिअ निरौलाले बताए।