पत्रकार किशोर श्रेष्ठलाई म्याद थपका आज अदालत उपस्थित गराइँदै

nepaltext

काठमाडौं - प्रहरी नियन्त्रणमा रहेका पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि म्याद थप गर्न आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ ।

वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा प्रहरीले श्रेष्ठलाई बुधबार पक्राउ गरेको थियो । पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

प्रहरी स्रोतका अनुसार उनलाई सरकारी वकिल कार्यालय हुँदै केहीबेरमा जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउन लागिएको हो । अदालतमा पेस गर्नुअघि आवश्यक कागजपत्र तयार पार्ने काम भइरहेको एक प्रहरी अधिकृतले जानकारी दिए ।

 

यसैबीच, प्रहरीले आज बिहान जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको थियो ।

श्रेष्ठको पक्राउ र जनआस्था कार्यालयमा गरिएको खानतलासीको नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटीलगायतका संस्थाले विरोध गरेका छन् । उनीहरूले श्रेष्ठलाई विनासर्त रिहा गर्न तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गरेका छन् ।

नेपाल पत्रकार महासंघले श्रेष्ठको रिहाइको माग गर्दै आज जिल्ला प्रहरी परिसर काठमाडौंअगाडि प्रदर्शनसहित धर्नासमेत दिएको छ।


प्रतिक्रिया