झापामा ४ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट ५ जनाको मृत्यु

nepaltext

झापा -जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणका कारण झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् ।

सङ्क्रमित हुनेमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना रहेका छन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये अधिकांश ५० वर्षभन्दा माथिका छन् ।

 

जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो । सङ्क्रमणपछि भाइरसले मस्तिष्कमा असर पुर्‍याउने गर्दछ ।

सुँगुर र हाँसलाई जेई भाइरसका मुख्य स्रोत मानिन्छ । सुँगुर पालन गर्ने व्यक्ति तथा धानखेत र पानी जम्ने क्षेत्र आसपास बसोबास गर्नेहरू जेई सङ्क्रमणको उच्च जोखिममा रहने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जेईबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन र सरकारले सञ्चालन गर्ने नियमित खोप कार्यक्रममा सहभागी भई जेईविरुद्धको खोप लगाउन आग्रह गरेका छन्।

प्रतिक्रिया