काठमाडौं । आगामी असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ । साथै, एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यसैगरी, मधेस प्रदेश तथा कोसी, वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भाग आसपास रहेको छ । उक्त मौसमी प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ । यसका कारण बुधबारदेखि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको छ ।
सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने महाशाखाले चेतावनी दिएको छ । सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, खोलानालामा पानीको सतह बढ्न सक्ने तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरिएको छ ।
वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन तथा नदी आसपास भइरहेका निर्माण कार्यमा समेत असर पर्न सक्ने महाशाखाले जनाएको छ । त्यसैले जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई विशेष सावधानी अपनाउन र सम्भावित जोखिमबाट बच्न आवश्यक उपाय अवलम्बन गर्न आग्रह गरिएको छ ।