राहदानी विभागअगाडि बसमा आगलागी, घटनाको अनुसन्धान गर्न समिति गठन

श्याम खतिवडा

काठमाडौं।राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागी घटनाबारे छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ। घटनामा ट्राफिक प्रहरीको संलग्नताबारे अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीले समिति गठन गरेको हो।

एसएसपी रमेश बस्नेतको संयोजकत्वमा गठित समितिलाई घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ।

राहदानी विभागअगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि बस चालक दावा लामा र ट्राफिक प्रहरीबीच भनाभन भएको देखिएको छ। उनीहरूबीच भएको भनाभनको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

घटनामा गम्भीर घाइते भएका चालक लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ।

यसअघि त्रिपुरेश्वरमै पठाओ चालक गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए। पछिल्लो घटनाले नागरिकका गुनासा सम्बोधन गर्ने प्रक्रिया तथा नागरिक र राज्य संयन्त्रबीचको व्यवहारबारे पुनः प्रश्न उठाएको छ।

प्रतिक्रिया