काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक रूपमा नेतृत्वबाट मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्।
जारी केन्द्रीय कमिटी बैठकलाई पत्र लेख्दै पोखरेलले पार्टी पुनर्गठनका लागि ओलीको सम्मानजनक बिदाइ आवश्यक रहेको बताएका हुन्। उनी श्रीमतीको उपचारका लागि हाल भारतमा छन्।
पोखरेलले पार्टीको वर्तमान अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै पुनर्गठनबिना पार्टी पङ्क्ति र आम जनतामा आशा जगाउन नसकिने बताएका छन्।
उनले पत्रमा भनेका छन्, ‘आजको जटिलतर बन्दै गएको अवस्थामा पुनर्गठन नगरी आम पार्टी पङ्क्ति र आम जनतामा समेत आशा जगाउन सकिन्न, अगाडि बढ्न सकिन्न ! यसका लागि देशभरिका आम कार्यकर्ताहरूको चाहना र मागबमोजिम तपाईँको सम्मानजनक मार्ग प्रशस्त विशेष महत्त्वपूर्ण हुनेछ ।’
ओलीले सम्मानजनक रूपमा नेतृत्व हस्तान्तरण गर्दै विधिसम्मत प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्नु नै पार्टीमा आशा जगाउने विकल्प भएको पोखरेलको भनाइ छ।
।