रोल्पा पहिरो : मृतक संख्या ४ पुग्यो, ८ अझै बेपत्ता (नामसहित)

nepaltext

रोल्पा ।रोल्पाको थवाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। पहिरोले कमलबहादुर पुन मगरको घरसहित अरू आधा दर्जन घरगोठ पुरिँदा मृत्यु हुनेको संख्या चार पुगेको हो।

रोल्पा प्रहरी प्रमुख डिएसपी पञ्चकुमार बाखुका अनुसार बिहान ७ बजेपछि ७१ वर्षीया मनरखी पुन मगर मृत अवस्थामा पहिरोबाट निकालिएको छ। त्यसअघि १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको शव भेटिएको थियो। उद्धारका क्रममा दिउँसो ७५ वर्षका डलबहादुर पुन मगरको शव फेला परेको छ।

पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सन्जय घर्ती मगर घाइते छन्। उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पठाइएको डिएसपी प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए।क्षेत्रीका अनुसार पहिरोमा परी अझै ८ जना बेपत्ता छन्। पहिरो पन्छाएर उनीहरूको खोजी भइरहेको छ। बुधबार बेलुकी पौने ९ बजेतिर गाउँमाथिको डाँडोबाट पहिरो खसेपछि कमलबहादुरको घर लगायत आधा दर्जन घरगोठ पुरिएको थियो।

 

यसैबिच, घटनामा बेपत्ता हुनेको पहिचान भएको छ। रोल्पा प्रहरीका अनुसार पहिरोमा बेपत्ता हुनेमा कमल पुन मगरका छोरी वर्ष ४० की जुनकुमारी पुन मगर, वर्ष ९ का अशिमपुन मगर, वर्ष ६ का अशोक पुन मगर, वर्ष ८० का अजम्बर पुन मगर, वर्ष ७८ का बलबहादुर पुन मगर, वर्ष ७२ को लिलबहादुर पुन मगर, वर्ष ७१ की मनिपुन मगर, वर्ष ६७ की हस्तकला रोका मगर रहेका छन्।

घटनापछि इलाका प्रहरी कार्यालय उवाबाट परिचालन भएको प्रहरी र स्थानीयले रातिदेखि उद्धार सुरु गरेका थिए भने सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, प्रहरी प्रमुख डिएसपी पंचकुमार बाखु, नेपाली सेनाका कर्णेल दिपेश खड्का, सशस्त्र डिएसपी कालिप्रसाद चौधरीसहितको उद्धार टोली घटनास्थल पुगेको छ।

यसैबिच, सुनिल स्मृती गाउँपालिकास्थित लाम्पा खोलामा एक व्यक्तिको खुट्टाको पाइताला भेटिएको छ। सुनिल स्मृती गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकीले उक्त खुट्टाथवाङ पहिरोमा परेका व्यक्तिको हुन सक्ने बताए।

प्रतिक्रिया