झापा -कनकाई नगरपालिका–३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समितिले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गरेको हो।
पुर्जा प्राप्त गर्नेमा भूमिहीन दलित एक, भूमिहीन सुकुमवासी पाँच र अव्यवस्थित बसोबासी सात जना रहेका छन्। यसअघि साउन ८ गते समितिले कनकाईका पाँच जनालाई जग्गाधनी पुर्जा वितरण गरेको थियो।
नगरपालिकाको भूमि प्रशासन शाखाका अनुसार गत वर्ष असारमा १५७ जनालाई धनीपुर्जा वितरण गरिएको थियो। तत्कालीन भूमि आयोगले आर्थिक वर्ष २०७९/८० देखि लगत संकलन सुरु गरेयता कनकाईमा हालसम्म २५८ जनाले जग्गाधनी पुर्जा पाइसकेका छन्।
भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालका अनुसार लगत संकलनका क्रममा नगरपालिकामा ३७५ भूमिहीन दलित, २ हजार २४४ भूमिहीन सुकुमवासी र ४ हजार ५८८ अव्यवस्थित बसोबासीको विवरण संकलन गरिएको छ।
नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बाँकी लाभग्राहीलाई पनि क्रमशः जग्गाधनी पुर्जा वितरण गर्दै जाने बताए।
जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लाभरि पुर्जा वितरणका लागि लगत संकलनदेखि वितरणसम्मको प्रक्रिया तीव्र पारिएको जानकारी दिए।
समितिका सदस्य सचिव तथा जिल्ला नापी कार्यालय, भद्रपुरका प्रमुख शिवप्रसाद लम्सालका अनुसार यसै महिनादेखि अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा समेत जग्गाधनी पुर्जा वितरण सुरु गरिएको छ। उनका अनुसार बुद्धशान्तिमा आगामी साता थप पुर्जा वितरण गर्ने तयारी भइरहेको छ।