'झन्डै २ तिहाइ बहुमतका प्रधानमन्त्री एक्लै ! बुझिन मैले, बुझाइदेऊ कसैले !! ;योगेश भट्टराई

nepaltext

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहले आफू एक्लो भएको बताएकोप्रति आश्चर्य व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत भट्टराईले प्रधानमन्त्री शाहसँग प्रतिनिधिसभाका १८२ सदस्य, एक दर्जनभन्दा बढी मन्त्री, ठूलो संख्यामा सेना, प्रहरी तथा कर्मचारी, साथै सल्लाहकार र निजी सचिवालयसमेत रहेको उल्लेख गर्दै उनी कसरी एक्लो भए भन्ने प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, “१८२ जना प्रतिनिधिसभा सदस्य, एक दर्जनभन्दा बढी मन्त्री, लाखौँ लाख सेना, प्रहरी र कर्मचारी, सल्लाहकार र पीए त कति हो कति, तर पनि एक्लै ?”

भट्टराईले विगतका नेताहरूको उदाहरण दिँदै बीपी कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी र गणेशमान सिंह आफू एक्लै भए पनि जनताको साथमा रहेको टिप्पणी गरेका छन् ।

उनका अनुसार ती नेताहरू व्यक्तिगत रूपमा एक्लो भए पनि समाज र जनमत उनीहरूको पक्षमा थियो । तर अहिलेका नेतृत्वका वरिपरि सबै प्रकारको शक्ति र संयन्त्र हुँदाहुँदै पनि आफूलाई एक्लो ठान्ने प्रवृत्तिप्रति उनले प्रश्न उठाएका छन् ।

“बीपी, मनमोहन, कृष्णप्रसाद, मदन भण्डारी र गणेशमान आफू एक्ला थिए, तर जगत् उनीहरूको पक्षमा थियो । हिजोका अरू र आजकाहरूका वरिपरि सब छ, तर पनि उनीहरू आफूलाई एक्लो ठान्दछन् किन होला ? बुझिन मैले, बुझाइदेऊ कसैले !” भट्टराईले लेखेका छन्।

प्रतिक्रिया