एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म

nepaltext

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म आयोजना गर्ने भएको छ । यो मिति अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म पर्छ ।

क्यानका सचिव पारस खड्काले शनिबार साँझ जारी गरेको विज्ञप्तिमार्फत एनपीएल २०२६ को मिति घोषणा गरेका हुन् । यसअघिका दुई संस्करण तिहारपछि मङ्सिरमा आयोजना हुँदै आए पनि यसपटक क्यानले दशैँ र तिहारको बीचको समयलाई प्रतियोगिताका लागि छनोट गरेको हो ।

प्रतियोगिताको विस्तृत खेल तालिका भने सार्वजनिक हुन बाँकी छ । क्यान स्रोतका अनुसार तिहारका दुई दिन खेल नराखी अन्य दिनमा नियमित रूपमा प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको छ ।

एनपीएलका लागि खेलाडी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ । अहिले सहभागी टोलीहरू विदेशी खेलाडी अनुबन्ध गर्ने तयारीमा जुटेका छन् । विदेशी खेलाडीको अनुबन्ध प्रक्रिया पनि तीव्र पारिएको क्यानले जनाएको छ ।

प्रतिक्रिया