बाढी-पहिराेका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित

nepaltext

काठमाडौँ । अविरल वर्षा, पहिरो, सडक भासिने तथा कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहान ५ः४५ बजेसम्म तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक र रुकुम पश्चिमको भेरी करिडोरलगायत सडकखण्डमा यातायात प्रभावित भएको छ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ।

त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षायाममा जोखिम बढ्ने भएकाले बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। सो क्षेत्रमा वैकल्पिक मार्ग भने उपलब्ध रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो, वडा नं. २ कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्डमा यातायात ठप्प भएको छ। जिरोकिलोमा पहिरो र लिपिङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको हो। चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पनि अरनिको राजमार्ग अवरुद्ध भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काडे, पिङवाखोला नजिक मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ।

वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम कायमै रहेकाले प्रहरीले सर्वसाधारणलाई यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया