एमालेप्रति प्रश्न उठाउने ठाउँ नै छैन, अधुरा काम पूरा गर्न हामी नै चाहिन्छ: केपी ओली

nepaltext.com

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति प्रश्न उठाउने कुनै ठाउँ नै नरहेको दाबी गर्नुभएको छ। गृहजिल्ला झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेबाहेक अन्य कुनै पनि राजनीतिक दलले 'हामीले देशका लागि काम गरेका छौँ' भनेर गर्वका साथ भन्न सक्ने अवस्था नरहेको जिकिर गर्नुभयो। देशमा विकासका धेरै कामहरू अगाडि बढिरहेको र ती अधुरा कामहरू पूरा गर्न एमालेकै नेतृत्व आवश्यक रहेको उहाँको भनाइ थियो।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले आगामी निर्वाचनमा हुन सक्ने सम्भावित धाँधलीप्रति संकेत गर्दै कसैले पनि 'बुथ कब्जा' गर्ने कल्पना नगर्न कडा चेतावनी दिनुभयो। मतदान प्रक्रियामा कुनै पनि किसिमको अवरोध हुन नहुने र जनताले निर्धक्क भएर मत हाल्न पाउनुपर्नेमा एमाले सधैँ अडिग रहेको उहाँले स्पष्ट पार्नुभयो। "कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना मात्रै हुन्छ, अब कसैलाई बुथ कब्जा गर्ने छुट दिइने छैन र कसैले गर्न सक्ने वाला पनि छैन," ओलीले भन्नुभयो।

निर्वाचनका क्रममा शान्ति सुरक्षा कायम गर्न र सम्भावित उच्छृंखल गतिविधि रोक्न पार्टीको भ्रातृ संगठन 'नेशनल युथ फोर्स'ले सक्रिय भूमिका खेल्ने समेत उहाँले बताउनुभयो। निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन युवाहरूको परिचालन गरिने बताउँदै उहाँले एमालेको विजयलाई कसैले रोक्न नसक्ने दाबी गर्नुभयो।

प्रतिक्रिया