सिंहदरबारको नाम परिवर्तन गर्न सांसद ढकालको प्रस्ताव, ‘अनामनगर दरबार’ राख्न सुझाव

nepaltext

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बताएका छन्।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान तथा विमानस्थलको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम भने यथावत रहेको भन्दै प्रश्न उठाए।

नेपालमा सिंह नपाइने उल्लेख गर्दै उनले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि प्रश्न गरे। उनले राजनीतिक परिवर्तनपछि विभिन्न स्थानको नाम परिवर्तन गरिएकै शैलीमा सिंहदरबारको नाम पनि परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्न सकिने धारणा व्यक्त गरे।

ढकालले भने, ‘परिवर्तनपछि सबै ठाउँको नाम परिवर्तन भयो । एयरपोर्टहरूको नाम परिवर्तन भयो । तर सिंहदरबारको नाम परिवर्तन भएन । हामीसँग सिंह नै छैन । सिंहदरबारको सट्टा अनामनगर दरबार राखिदिएको भए हुन्थ्यो होला।’

उनले सिंहदरबारको नाम परिवर्तनसँगै यसको कार्यशैली, प्रवृत्ति, हाउभाउ र भाषाशैलीमा समेत परिवर्तन आवश्यक रहेको बताए। प्रशासनिक केन्द्रमा अझै विद्यमान पुरानो सोच, परम्परागत शैली र भाष्यलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो।

सिंहदरबारलाई उनले राज्य सञ्चालनको ‘मुहान’को संज्ञा दिँदै त्यहीँबाट सुधारको सुरुवात हुनुपर्नेमा जोड दिए। नाम परिवर्तन मात्र पर्याप्त नहुने भन्दै उनले प्रशासनिक कार्यशैली र सोचमा समेत रूपान्तरण आवश्यक रहेको बताए।

प्रतिक्रिया