कांग्रेस–एमाले–नेकपा मिलेर चुनाव लड्ने सम्भावनालाई नकार्न सकिँदैन : लेखराज भट्ट

nepaltext.com

कैलाली । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले गणतन्त्र पक्षधर शक्तिहरू एक भएर अघि बढ्नुपर्ने बताएका छन्।

उपमहासचिवमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला कैलाली पुगेका भट्टले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरणका लागि गणतन्त्र पक्षधरहरूबीच एकता आवश्यक रहेकोमा एमालेको स्पष्ट धारणा रहेको बताए।

यस क्रममा उनले भने, ‘सकेसम्म गणतन्त्र पक्षधरहरूले संविधानको रक्षाका लागि मिल्नुपर्छ भन्नेमा एमालेको जोड छ।’ यस्तै, आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, एमाले र नेकपा मिलेर चुनाव लड्ने सम्भावनाबारे सोधिएको प्रश्नमा भट्टले राजनीतिक रूपमा सबै विकल्प खुला रहेको संकेत गरे। उनले पत्रकारको प्रश्नमा प्रतिक्रिया दिँदै स्पष्ट शब्दमा भने, ‘राजनीति हो, सम्भावनालाई नकार्न सक्दैन । नेतृत्वको बीचमा छलफल भइरहेको छ । सम्पर्क गाढा भइरहेको छ ।’

भट्टको यो अभिव्यक्तिले आगामी निर्वाचनलाई लक्षित गर्दै दलहरूबीच सम्भावित सहकार्यको संकेत दिएको रूपमा हेरिएको छ।

प्रतिक्रिया