मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आह्वान गरेको सर्वदलीय बैठक बस्दैछ। सोमबार दिउँसो साढे २ बजेका लागि बोलाइएको उक्त बैठक केही ढिलो गरी बस्ने तयारी भइरहेको हो। बागमती प्रदेश सुशासन केन्द्र, ललितपुरमा बस्ने बैठकमा वर्तमान राजनीतिक अवस्थाको समीक्षाका साथै बदलिँदो राजनीतिक परिस्थितिमा बागमती प्रदेश सरकारका विषयमा गहन छलफल हुने मुख्यमन्त्री बानियाँले जानकारी दिएका छन्।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकारको वर्तमान राजनीतिक तरलतामा 'ब्रेक थ्रु' गर्ने गरी बैठकमा छलफल हुने बताएका छन्। प्रदेशमा उत्पन्न राजनीतिक अवस्थाबारे स्पष्ट पार्दै उनले भने, ‘अहिलेको राजनीतिक परिस्थिति, प्रदेश सरकारको अङ्क गणितीय सकस, दलहरू बिचको आपसी सद्भावको लागि बैठक बोलाइएको हो। अहिले बागमती प्रदेशमा राजनीतिक सङ्कट उत्पन्न भएको छ । जसले विकास निर्माण र सेवा प्रवाहमा समेत प्रभावित भइरहेको छ। उक्त अवस्थालाई चिर्न प्रदेश सरकारको नेतृत्वको हिसाबले बैठक बोलाइएको हो। प्रदेशको लिडिङ दलको हैसियतले दलको नेताले बैठक बोलाएको हो।’
यसैगरी, बैठकमा अहिलेको राजनीतिक परिस्थिति अन्त्य गर्न दलहरूसँग आवश्यक संवाद अघि बढाउने मुख्यमन्त्रीको तयारी छ। उनले विगतका अवस्थाहरूलाई चिर्दै सरकारको निरन्तरताका लागि सबैभन्दा ठुलो दललाई नै विश्वासको मत दिने विषयमा प्रस्ताव अघि बढाइने जानकारी दिएका छन्।