शैक्षिक सत्र २०८४ देखि लागू हुने गरी नयाँ परिमार्जित पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयनमा आउने

nepaltext.com

भक्तपुर । शैक्षिक सत्र २०८४ देखि लागू हुने गरी नयाँ परिमार्जित पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयनमा आउने भएको छ। नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले एक सूचना जारी गर्दै यस सम्बन्धी जानकारी गराएको हो।

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०८२ असार १९ गतेको बैठकले नयाँ पाठ्यक्रम सिफारिस गरेको थियो। तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८२ साउन ९ गतेको निर्णयानुसार स्वीकृत सामाजिक अध्ययन विषयको कक्षा ४ देखि १२ को पाठ्यक्रम अनुसार नयाँ पाठ्यपुस्तक विकास भएको हो। जसअनुसार कक्षा ५, ८, १० र १२ का पाठ्यपुस्तकहरू शैक्षिक सत्र २०८४ देखि लागू हुनेछन्।

यसैगरी, पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०८२ मङ्सिर १७ गतेको बैठकको सिफारिस तथा शिक्षा तथा खेलकुद मन्त्रालयको २०८३ वैशाख ११ गतेको निर्णयबमोजिम स्वीकृत आधारभूत तह कक्षा १ देखि ३ को परिमार्जित पाठ्यक्रम २०८२ र प्रारम्भिक बालविकास तथा शिक्षाको परिमार्जित पाठ्यक्रम २०८२ समेत शैक्षिक सत्र २०८४ बाटै अनिवार्य रूपमा लागू हुनेछन्।

उक्त व्यवस्थाअनुसार नयाँ पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयन गराउनका लागि पाठ्यक्रम विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइहरू, सबै स्थानीय तहहरू र सम्पूर्ण सरोकारवालाहरूलाई आधिकारिक रूपमा जानकारी गराएको छ।

प्रतिक्रिया