सुनसरी, २४ साउन । “हामी यहाँ बसाइँ सरी आउँदा कोशी नदी धेरै टाढा बग्थ्यो । अहिले त बस्तीमै आइपुगेको छ,” सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टापुका पदम राई भन्छन्।
२०७४ सालदेखि परिवारसहित श्रीलङ्का टापुमा बस्दै आएका राईले एक बिघा जमिनमा धान र मकैखेती गर्दै आएका छन्। केही गाईभैँसी पालेर परिवारको गुजारा चलाउँदै आएका उनलाई खेतीपातीभन्दा पनि हरेक वर्ष बस्ती नजिकिँदै आएको सप्तकोशी नदीको कटानले बढी चिन्तित बनाएको छ।
“हरेक वर्ष कटान बढ्दै गएको छ। अहिले हामी स्थानीय मिलेर श्रमदान गर्दै बालुवा र सिमेन्टका बोरा राखेर किनार जोगाउने प्रयास गरिरहेका छौँ। तर ठूलो बाढी आयो भने यस्ता प्रयासले धेरै दिन धान्न सक्दैनन्,” उनी भन्छन्, “यसले तत्कालका लागि राहत दिन्छ, स्थायी समाधान होइन।”
सप्तकोशी नदीको कटानका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ अन्तर्गतका चिलिया तथा श्रीलङ्का टापुका बासिन्दा वर्षौंदेखि जोखिममा छन्। नदीले हरेक वर्ष खेतीयोग्य जमिन र बस्ती कटान गर्दै लगे पनि दीर्घकालीन समाधान हुन नसक्दा स्थानीयमा बर्खा सुरु भएसँगै त्रास बढ्ने गरेको छ।
सुनसरी र उदयपुरको सीमामा पर्ने चिलिया टापुमा यस वर्ष पनि नदीको बहाव बढेसँगै कटान तीव्र भएको छ। स्थानीयवासीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरी श्रमदानमा जुटेर अस्थायी तटबन्ध निर्माण गरिरहेका छन्।
सप्तकोशी कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझीका अनुसार कटानका कारण चिलिया र श्रीलङ्का टापुका बस्तीको जोखिम हरेक वर्ष बढिरहेको छ। कटान नियन्त्रणका लागि यसअघि निर्माण गरिएका करिब १८ वटा स्परमध्ये नौवटा पूर्णरूपमा क्षतिग्रस्त भइसकेका छन् भने बाँकी पनि नदीको कटानमा पर्दै गएका छन्।
“बाँस गाड्ने, नाइलनको डोरीले बाँध्ने र बालुवा भरिएका बोरा राख्नेजस्ता काम गरिरहेका छौँ। तर यी सबै अस्थायी उपाय हुन्,” माझीले भने, “दीर्घकालीन रूपमा बलियो तटबन्ध निर्माण र वैज्ञानिक नदी व्यवस्थापनबिना समस्या समाधान हुँदैन।”
बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार चिलिया र श्रीलङ्का टापुमा कटान नियन्त्रणका लागि विभिन्न निकायसँग समन्वय गरी अस्थायी तटबन्ध निर्माण भइरहेको छ। उनका अनुसार कोशी बक्राहा नदी नियन्त्रण आयोजनामार्फत पहिलो चरणमा पाँच हजार ५०० बोरा र ७० थान डोरीजाली उपलब्ध गराइएको छ।
सप्तकोशीले धार परिवर्तन गर्दै बनाएको चिलिया टापु अहिले हजारौँ मानिसको बसोबास क्षेत्र बनेको छ। यो क्षेत्र बराहक्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–१, २ र ३ मा फैलिएको छ। नदीको बहाव बढेसँगै यस वर्ष चिलिया र गरैया क्षेत्रमा कटान तीव्र भएपछि सयौँ परिवार जोखिममा परेका छन्।
प्रमुख कार्कीका अनुसार अहिले करिब ६०० घरपरिवार प्रत्यक्ष जोखिममा छन्। बेलका–८ क्षेत्रमा गरिएको संरक्षण कार्यले केही राहत दिए पनि तल्लो तटीय क्षेत्रमा कटान रोकिएको छैन। सप्तकोशीको धार विस्तारै पश्चिमतर्फ मोडिन थालेकाले बाक्लो बस्ती भएका क्षेत्रमा जोखिम अझ बढ्न सक्ने उनको भनाइ छ।
गत वर्ष कटान रोक्न निर्माण गरिएका तारजालीयुक्त संरचनासमेत नदीको बहावमा डुब्न थालेका छन्। स्थानीय भीम राईका अनुसार असारदेखि सुरु भएको कटान अहिले झन् तीव्र हुँदै गएको छ। बलौटे माटो भएका कारण दैनिकजसो जमिन बगिरहेको र संरक्षणका लागि राखिएका ढुङ्गा तथा तारजालीसमेत नदीले बगाउँदै लगेको उनले बताए।
स्थानीयका लागि बर्खायाम बाढीको मात्र नभई कटानको पनि ठूलो त्रास बनेको छ। हरेक वर्ष खेतीयोग्य जमिन साँघुरिँदै जानु, नदी घरनजिकै आइपुग्नु र आवश्यक पर्दा बस्ती नै छाड्नुपर्ने अवस्था दोहोरिँदा उनीहरूको जीवन नै जोखिममा परेको छ।
बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले कटान नियन्त्रणका लागि नगरपालिकाले आफ्नो क्षमताअनुसार स्रोतसाधन परिचालन गरिरहेको बताए। प्रभावित क्षेत्रमा जेसिभी, ट्याक्टर, बालुवा ढुवानीका साधन, जाली, बोरा, सिमेन्टलगायत सामग्री उपलब्ध गराएर स्थानीय तथा सुरक्षा निकायसँगको समन्वयमा तटबन्ध निर्माण भइरहेको उनले जानकारी दिए।
“कोशीको कटान यहाँको मात्र समस्या होइन, यो राष्ट्रिय सरोकारको विषय हो,” नगरप्रमुख कार्कीले भने, “नगरपालिकाको सीमित बजेट र स्रोतसाधनबाट हरेक वर्ष दोहोरिने कटानको स्थायी समाधान सम्भव छैन। सप्तकोशीजस्तो शक्तिशाली नदी नियन्त्रणका लागि वैज्ञानिक अध्ययनका आधारमा दीर्घकालीन संरचना निर्माण गर्नुपर्छ।”
उनका अनुसार गत वर्ष निर्माण गरिएका स्परसमेत ठूलो बाढीले बगाएको छ। स्पर मात्र निर्माण गरेर समस्या समाधान नहुने भन्दै उनले उपयुक्त स्थानमा ड्याम, नोचलगायतका नदी नियन्त्रण संरचना निर्माण गर्नुपर्ने बताए।
त्यसका लागि सङ्घीय सरकारले पर्याप्त बजेट विनियोजन गरी दीर्घकालीन योजना कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ। कटान बढ्दै गएर बस्तीमा बाढी पसे ठूलो जनधनको क्षति हुनसक्ने भन्दै उनले आवश्यक परे छिमेकी मुलुकसँग समेत कूटनीतिक पहल गर्नुपर्ने बताए।
“यस विषयमा मन्त्रीहरूसँग बसेर विस्तृत छलफल गर्न चाहन्छु। पटकपटक काठमाडौँ गए पनि सम्बन्धित मन्त्रीहरूसँग भेटेर समस्या राख्ने अवसर पाउन सकेको छैन,” उनले भने।
करिब तीन हजार जनसङ्ख्या रहेको चिलिया–श्रीलङ्का टापु क्षेत्रमा अधिकांश परिवारको जीविकोपार्जन कृषि तथा पशुपालनमा निर्भर छ। धान, मकै, तरकारीखेती, पशुपालन र दुग्ध उत्पादन यहाँको स्थानीय अर्थतन्त्रका प्रमुख आधार हुन्।
तर हरेक वर्ष बर्खासँगै दोहोरिने बाढी र कटानले स्थानीयको मेहनत जोखिममा पार्दै आएको छ। तत्कालका लागि स्थानीयको श्रमदान र अस्थायी तटबन्धले केही राहत दिए पनि सप्तकोशीको कटानबाट बस्ती र खेतीयोग्य जमिन जोगाउन दीर्घकालीन तथा वैज्ञानिक नदी नियन्त्रण योजना आवश्यक देखिएको छ।