काठमाडौंमा नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान गर्ने उद्देश्यले बसेको पहिलो चरणको वार्ता सकिएको छ । बैठकमा उठेका विषयहरू आ–आफ्नो समूह र शीर्ष नेतृत्वसँग छलफल गरी साझा धारणा बनाएपछि फेरि पुनः वार्तामा बस्ने सहमतिसहित पहिलो चरण टुंगिएको हो । वार्तामा सहभागी एक नेताका अनुसार सहमति खोज्न दुवै पक्ष अधिकतम लचक बन्न तयार देखिएका छन् । उनले भने, “सहमतिको प्रयास जारी छ, पहिलो चरणको वार्ता सकियो, अब यहाँ उठेका विषयवस्तु आफ्ना–आफ्ना नेताहरूलाई ब्रिफिङ गरेर धारणा तय गरेपछि फेरि बस्ने कुरा भएको छ ।” उक्त वार्तामा संस्थापन पक्षबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी थिए भने शेखर कोइराला पक्षबाट बद्री पाण्डे र जीवन परियार सहभागी भए । विशेष महाधिवेशन पक्षको तर्फबाट प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरुराज घिमिरे वार्तामा उपस्थित थिए । पार्टीभित्र बढ्दो मतभेदलाई सहमतिमा रूपान्तरण गर्ने प्रयासस्वरूप सुरु भएको यो संवादलाई सबै पक्षले सकारात्मक तर संवेदनशील मोडमा पुगेको रूपमा लिएका छन् ।