काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बुधबारबाट सुरु भएको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । यसअघि हिजो बसेको बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने विषयमा व्यापक छलफल भएको थियो ।
हिजोको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले महाधिवेशनको कार्यतालिका वर्तमान राजनीतिक र संगठनात्मक अवस्थाअनुसार व्यवहारिक हुनुपर्ने माग राखेका थिए । कार्यतालिका कार्यान्वयनयोग्य नभएको भन्दै संशोधन अपरिहार्य रहेको धारणा नेताहरूले राखेको प्रवक्ता महतले बताए ।
बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धी विषयमा विस्तृत ब्रिफिङ प्रस्तुत गरेका थिए । थापाले वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरेपछि सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् । उनको उक्त प्रस्तावमाथि नेताहरूले धारणा राख्ने क्रम आजको बैठकमा पनि निरन्तर रहने जनाइएको छ ।