काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले उपसभामुख रबीकुमारी (रुबीकुमारी) ठाकुरले पदमा पुगेपछि पार्टीको योगदानलाई सम्मान गर्न नसकेको भन्दै कडा आलोचना गरेका छन्। हालै आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले नेपाली नागरिकको भोट र श्रमदाताको आँसु-पसिनाबाट पदमा पुगेकाहरूले पार्टीलाई नै बिर्सिएको आरोप लगाए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कहाँको मान्छेलाई जिताएर आँसु पसिना बगाएर श्रमदाताले लिएर आए, नेपाली नागरिकले भोट हाले, पदमा पुगेपछि त पाँच जना पार्टीले सिफारिस गरेको कर्मचारी पनि आर्मी लगाएर निकाल्ने अनि त्यस्तो रुबी चाहिँदैन।’
वरिष्ठ नेता किराँतीले श्रम संस्कृति पार्टीकै काँधमा चढेर विभिन्न सार्वजनिक पदमा पुगेका नेताहरूले अनिवार्य रूपमा पार्टीको सिद्धान्त र नीतिअनुसार काम गर्नुपर्नेमा जोड दिए। पार्टीमा अनुशासन र स्पष्ट विचारको आवश्यकता औँल्याउँदै उनले थपे, ‘यो श्रम संस्कृति पार्टीको काँधमा चढेर मेयर, सांसद, मन्त्री, मुख्यमन्त्री हुने अनि गएर रुबी हुनेरु यो भनेको पार्टीको स्पष्ट अनुशासन पनि हुनुपर्छ। त्यो विचार हुनुपर्छ। त्यो लयमा हामी हिँड्नुपर्छ। १०० थरी बाजा एउटै धुन, १०० थरी गोला एउटै चाल। जो जता हिँडे पनि हुने, जसलाई जे मन लाग्छ त्यही गर्दा हुनेरु अब यो पार्टी त्यो चल्दैन, विधि चाहिन्छ।’
पार्टी संस्थागत र प्रणालीगत रूपमा चल्न नसके संसारको कुनै पनि शक्तिले यसलाई जोगाउन नसक्ने ठोकुवा गर्दै उनले हरेक ठाउँमा जस्तै पार्टीमा पनि निश्चित नियम र विधि चाहिने बताए। पार्टी निर्माणका प्राथमिकताबारे चर्चा गर्दै उनले भने, ‘पशुपतिमा पूजा गर्ने पनि त नियम हुन्छ। एउटा शौचालयमा मान्छे जाँदा पनि पालोले जाने नियम हुन्छ? यो पार्टी यो पार्टी देश बनाउने पार्टी हो। तर तीनवटा सर्त हामीले अहिले छोड्नुहुँदैन। पहिलो, एक नम्बरको पार्टी बनाउने, दोस्रो, अध्यक्षलाई प्रधानमन्त्री बनाउने र तेस्रो, सर्वमान्य नेता बनाउने सर्तमा यो पार्टी संस्थागत र प्रणालीमा चल्नैपर्छ। संस्थागत र प्रणालीमा चलिएन भने यो तीनवटै काम हुँदैन। गाह्रो हुन्छ।’
यसैगरी, उनले पार्टीको नीति र लाइनविपरीत कसैले पनि बोल्न नपाउने भन्दै पार्टीका शुभेच्छुकहरूलाई पनि अनुशासनको दायरामा ल्याउनुपर्ने बताए। अध्यक्षले बोलेको कुरा नै शुभेच्छुकले पनि बोल्नुपर्ने धारणा राख्दै उनले भने, ‘शुभेच्छुकले आफ्नो हिसाबले मनपरी बोल्न पाइँदैन। पार्टीको लाइन बोल्नुपर्छ। शुभेच्छुक भनेको सदस्य समान हो। शुभेच्छुकले नि बोल्छ। त्यसकारणले त्यो लाइन हामीले बनाउनुपर्छ। त्यसको निम्ति प्रणाली हामीलाई चाहिन्छ।’ अन्तमा, उनले ‘हामी यस्तो प्रणाली बनाऔँ, यस्तो पार्टी बनाऔँ अर्काले पनि हामीलाई डाह गरोस्’ भन्दै अरूभन्दा सम्पूर्ण रूपले आकर्षित पार्टी निर्माणका लागि विचार, प्रणाली र व्यवहार स्पष्ट हुनुपर्नेमा जोड दिए।