काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अब नेतृत्वबाट सम्मानपूर्वक विश्राम लिन सुझाव दिएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले ओलीले दुईपटक पार्टी अध्यक्ष र चारपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेकाले अब नयाँ पुस्तालाई मार्गदर्शन गर्ने भूमिकामा सीमित हुनुपर्ने धारणा राखे । उनका अनुसार ओली अहिले ७४ वर्ष पुगिसकेका छन्, त्यसैले अब प्रतिस्पर्धामा उत्रिनुभन्दा अनुभव र ज्ञानको आधारमा नयाँ पुस्तालाई दिशा देखाउनु नै पार्टी र उहाँको व्यक्तित्व दुवैका लागि उपयुक्त हुने बताउँदै उनले भने, “हामी प्रतिस्पर्धा गर्छौं, तर मेरो मत छ— ओलीजीले अब विश्राम लिएर अभिभावकको भूमिकामा रहनु पर्छ।”
थापाले ओलीको योगदानको सम्मान गर्दै पनि पछिल्लो समय पार्टी सञ्चालनको शैलीप्रति असन्तुष्टि जनाए । उनका अनुसार ओली अहिले सर्वसत्तावादी ढङ्गले पार्टी सञ्चालन गर्न खोजिरहेका छन्, जसले आन्तरिक लोकतन्त्र कमजोर बनाउँदै पार्टीको सान्दर्भिकता घटाएको छ । उनले भने, “उहाँ आफैंलाई केन्द्रमा राखेर अरूका विचारलाई स्थान नदिने बाटोमा लाग्नुभएको छ, यस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाउँछ र संगठनभित्रको लोकतान्त्रिक मूल्यलाई क्षति पुर्याउँछ।”
कम्युनिस्ट आन्दोलनका ऐतिहासिक नेताहरूको सन्दर्भ दिँदै थापाले भने, “पुष्पलाल संस्थापकका कारण महान् नेता, मनमोहन अधिकारी त्याग र सरल स्वभावका कारण आदर्श नेता, मदन भण्डारी विचारका नेता र ओली पार्टी सञ्चालनको विधिका पक्षधर नेता हुन्।” तर उनले चेतावनी दिँदै थपे, “जब कुनै नेताले आफ्नै मूल विशेषता त्याग्छ, त्यही बेला उहाँको सान्दर्भिकता सकिन्छ। ओलीजीले अहिले लोकतान्त्रिक नेतृत्व र सामूहिक निर्णयको संस्कृति त्याग्नुभएको छ, जुन दुःखद कुरा हो।”
थापाले ओलीको विकल्प सम्भव भएको दाबी गर्दै भने, “कुनैबेला ओलीजीको अध्यक्ष बन्ने कुरा असम्भव जस्तो लाग्थ्यो, तर त्यो सम्भव भयो। अहिले पनि नयाँ नेतृत्व सम्भव छ। हामी विकल्प दिन्छौं र पार्टीलाई जनताको बहुदलीय जनवादका मान्यताअनुसार अघि बढाउँछौं।” उनका अनुसार एमालेभित्र संस्थापन र विस्थापनजस्ता प्रवृत्तिहरू हटाएर सबै कार्यकर्ताको सम्मान हुने वातावरण बनाउन आवश्यक छ, जसले नेतृत्व परिवर्तनलाई सहज र स्वस्थ बनाउँछ।
पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवादबारे पनि थापाले ओली नेतृत्वको निर्णयलाई ‘विधानविपरीत’ बताएका छन्। उनले भने, “पार्टी विधानको धारा ९ अनुसार कुनै विशेष जिम्मेवारीमा पठाइएका व्यक्तिको सदस्यता स्थगन अवस्थामा रहन्छ र फर्किएपछि स्वतः सक्रिय हुन्छ। त्यसैले विद्या भण्डारीको सदस्यता नवीकरण नहुने निर्णय गलत छ। यस्तो निर्णयले पार्टीमाथि धब्बा लागेको छ र लोकतान्त्रिक मूल्यमा प्रहार भएको छ।”
एमालेलाई फेरि जनताको विश्वास जित्ने पार्टी बनाउने आवश्यकता औंल्याउँदै थापाले भने, “एमाले कहिले यस्तो पार्टी थियो जहाँ असल, योग्य र सक्षम कार्यकर्ताको कदर हुन्थ्यो। अहिले त्यो प्रणाली कमजोर भएको छ, तर हामी फेरि त्यही गौरव फर्काउने प्रयासमा छौं।” उनले आत्मसमीक्षा गर्दै थपे, “हामीले सत्तामा रहँदा केही गल्ती गरेका छौं, ती दोहोर्याउँदैनौं। जनतासँग माफी मागेर फेरि जनविश्वास आर्जन गर्नेछौं।”
थापाले अन्त्यमा जनताको विश्वासलाई राजनीतिक पार्टीको सबैभन्दा ठूलो शक्ति बताउँदै भने, “आज सत्ता, पद र व्यक्तिगत स्वार्थले राजनीति प्रभावित भइरहेको छ, तर वास्तविक शक्ति जनताको भरोसामा निहित छ। राणाकालदेखि पञ्चायतसम्मका कठिन समयमा मानिसहरू पदका लागि होइन, विचारका लागि कम्युनिस्ट आन्दोलनमा लाग्थे। अब त्यही भावना पुनः जगाउने बेला आएको छ। एमाले फेरि त्यस्तो पार्टी बन्नुपर्छ जसले जनताको भावना, सपना र आशा पूरा गर्न सकोस्, र न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर नेपाल निर्माणको नेतृत्व लिन सकोस्।”