सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ ।
देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार साँझ गोली प्रहारबाट घाइते भएका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार उनको आइतबार शल्यक्रिया गरी गोली निकालिएको हो ।
यादवको कम्मरमुनि दायाँ तिघ्रामा गोली लागेको थियो । उनी हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्किने क्रममा लक्ष्मीनारायण मन्दिर अगाडि गोली प्रहारबाट घाइते भएका थिए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले देवानगन्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादवलाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको सूचना अधिकारी खड्काले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार युवतीको विषयलाई लिएर युवाहरूबीच भएको विवाद र त्यसबाट उत्पन्न रिसइबीका कारण गोली प्रहार भएको खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।