हुम्ला । कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–२ स्थित रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार पहिरोसँगै ठूला ढुङ्गा खसेर करिब १०० मिटर सडक अवरुद्ध भएपछि करिडोरमा सवारी आवागमन ठप्प भएको हो ।
सडक अवरुद्ध भएपछि करिडोर हुँदै यात्रा गरिरहेका यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन् । सडकमा ठूला ढुङ्गा थुप्रिएकाले तत्काल अवरोध हटाउन कठिन भएको छ ।
जिल्ला सदरमुकाम सिमकोटमा आइतबार सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेका छन् । अदानचुली गाउँपालिका–२ का कमल बुढाका अनुसार उनीहरू सडक खुल्ने प्रतीक्षामा सर्केगाडको खडीखेतमा बसेका छन् ।
श्रीमतीको कानको उपचार गराउन शनिबार बिहान गाउँबाट सिमकोटतर्फ हिँडेका बुढाले छारेभिरमा पहिरो खसेपछि बीच बाटोमै रोकिनुपरेको बताए ।
“उहाँहरू पहिरोका कारण सर्केगाडको खडीखेतमा बसेर सडक खुल्ने आशामा पर्खिरहनुभएको छ । स्वास्थ्य शिविरमा उपचारका लागि जाने नागरिक सडक अवरुद्ध भएपछि समयमै सिमकोट पुग्न नसक्ने चिन्तामा छन्”, उनले भने ।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले सडक खुलाउन आवश्यक पहल भइरहेको जानकारी दिएका छन् । उनका अनुसार सडकमा ठूला ढुङ्गा खसेकाले सामान्य उपकरणको प्रयोगबाट मात्रै अवरोध हटाउन सम्भव छैन ।
सडक खुलाउने विषयमा सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहलगायत उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरिएको उनले बताए । छलफलपछि आइतबार बिहानैदेखि सडक खुलाउने काम सुरु गर्ने तयारी गरिएको छ ।
करिब १०० मिटर सडक क्षेत्रमा ठूला ढुङ्गा थुप्रिएकाले तिनलाई फुटाएर हटाउनुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी गुरागाईंले बताए । दुर्गम क्षेत्रमा आवश्यक उपकरण तथा साधनस्रोत तत्काल जुटाउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्न सक्ने उनको भनाइ छ ।
आइतबार बिहानदेखि निरन्तर काम अघि बढाएर सम्भवतः सोमबार दिउँसोसम्म कर्णाली करिडोर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनले जानकारी दिए ।
वर्षायाममा बाढी, पहिरो तथा ढुङ्गा खस्ने समस्याका कारण कर्णाली करिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ । करिडोर अवरुद्ध हुँदा हुम्लाका नागरिकको आवतजावत, उपचार सेवा तथा खाद्यान्न र दैनिक उपभोग्य सामग्रीको ढुवानी प्रभावित हुने गरेको छ ।