मधेसमा आत्महत्याका घटना बढ्दै

nepaltext

जनकपुरधाम । मधेस प्रदेशमा आत्महत्याका घटना बढ्दै गएको पाइएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौमा मात्रै प्रदेशका आठ जिल्लामा २५० जनाले आत्महत्या गरेका छन्।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार साउनमा ८८ र भदौमा १६२ जनाले आत्महत्या गरेका हुन्। आत्महत्याका अधिकांश घटनामा झुण्डिने र विष सेवन गर्ने माध्यम प्रयोग भएको प्रहरीले जनाएको छ।

जिल्लागत विवरणअनुसार सबैभन्दा बढी सिरहा र बारामा ४६/४६ जनाले आत्महत्या गरेका छन्। यस्तै, सप्तरीमा ३९, रौतहटमा ३०, धनुषा र महोत्तरीमा २४/२४, सर्लाहीमा २१ तथा पर्सामा २० जनाले आत्महत्या गरेको प्रवक्ता ढकालले जानकारी दिए।

आत्महत्याका घटनामा वृद्धि हुनुको ठोस कारण यकिन हुन नसके पनि घरायसी विवाद, प्रेममा असफलता, गरिबी, बेरोजगारी तथा जीवनका दुःखकष्ट सहन नसक्नुलगायतका कारण हुन सक्ने स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।

उमेरगत रूपमा १६ वर्षमुनिका किशोरकिशोरीदेखि ७० वर्षसम्मका वृद्धवृद्धाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ। आत्महत्या गर्नेमा १८ देखि ४० वर्ष उमेर समूहका व्यक्तिको संख्या बढी रहेको प्रवक्ता ढकालले बताए। उनका अनुसार पुरुषको तुलनामा महिलाले बढी आत्महत्या गर्ने गरेका छन्।

महिलामाथि हुने हिंसाका कारण पनि आत्महत्याका घटना बढिरहेको महिला अधिकारकर्मी सरस्वती मण्डलको भनाइ छ। उनका अनुसार आत्महत्या गर्नेमा सामान्य आर्थिक अवस्था भएका व्यक्तिको संख्या बढी देखिएको छ।

प्रहरीका अनुसार अधिकांशले झुण्डिएर र विष सेवन गरेर आत्महत्या गर्ने गरेका छन् भने केहीले अग्लो स्थानबाट हाम फालेर ज्यान गुमाउने गरेका छन्। सामान्य विवादका क्रममा समेत विष सेवन गरेर आत्महत्या गर्ने प्रवृत्ति समाजका लागि चुनौती बन्दै गएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।

स्थानीय बुद्धिजीवी एवं नागरिक समाजका अगुवा रामकुमार साहले आत्महत्याका घटना रोक्न समाजका सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताए।

“यस किसिमको अपराधको विषयमा समाजका सबै पक्ष गम्भीर बनेर समस्या समाधानमा एकजुट हुनुपर्छ। नभए यो समाजका लागि ठूलो चुनौतीको रूपमा खडा हुन सक्छ,” उनले भने।

आत्महत्या न्यूनीकरणका लागि मनोसामाजिक परामर्श तथा मनोचिकित्सकीय सेवा सञ्चालन गर्नुपर्नेमा पनि साहले जोड दिए।

 
 

प्रतिक्रिया