रास्वपाको सचिवालय बैठकले गर्‍यो यस्तो निर्णय ?

nepaltext

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणको कामलाई तीव्रता दिन माग गरेको छ।

आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य प्रभावकारी बनाउन र कुनै पनि किसिमको कमीकमजोरी हुन नदिन सरकारलाई आग्रह गरेको हो।

बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता जगदीश खरेलले सरकारमा सहभागी मन्त्री तथा पदाधिकारीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणको काम भइरहेको तथा अब पुनर्स्थापना र पुनर्निर्माणको काम सुरु हुन लागेको जानकारी प्राप्त भएको बताए।

पार्टीले बेपत्ता व्यक्तिहरूको शव पहिचान हुन नसकेको अवस्थामा डीएनए परीक्षण प्रक्रिया शीघ्र अघि बढाउन, पीडित परिवारलाई राहतको अनुभूति गराउन तथा सहयोगका सेवा प्रभावकारी बनाउन पनि माग गरेको छ।

अझै पाँच हजारभन्दा बढी व्यक्ति बेपत्ता रहेको र धेरै परिवार पीडामा रहेको उल्लेख गर्दै रास्वपाले मृत्यु भएको वा नभएको विषयमा यथाशीघ्र टुंगो लगाउनुपर्नेमा जोड दिएको छ। कानुनी अड्चन भए आवश्यक कानुन संशोधन गरेर भए पनि मृत्यु प्रमाणपत्र उपलब्ध गराउनुपर्ने पार्टीको धारणा छ।

त्यस्तै, पीडित परिवारको सहमतिमा राहत, पुनर्निर्माण र पुनर्स्थापनासम्बन्धी काममा सरकारले सहजीकरण गर्नुपर्ने र प्रभावित क्षेत्रमा कुनै पनि प्रकारको कमजोरी हुन नदिन आवश्यक व्यवस्था मिलाउनुपर्ने रास्वपाले जनाएको छ।

बैठकमा मधेस प्रदेशको अधिवेशनका सम्बन्धमा देखिएका आन्तरिक समस्याबारे पनि छलफल भएको थियो। सहमहामन्त्री हरि ढकाल संयोजक रहेको समितिले यस विषयमा अडिट रिपोर्ट पेस गरेको र विस्तृत प्रतिवेदन आगामी हप्ता बुझाइने प्रवक्ता खरेलले जानकारी दिए।

बैठकले अनुशासन आयोग तथा केही विभागमा नयाँ सदस्य मनोनयन गर्ने निर्णयसमेत गरेको छ। साथै, पार्टी उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका उपलब्धिबारे समीक्षा गरिएको थियो।

बाढीको विपद्पछि स्थगित गरिएका पार्टीका सबै औपचारिक तथा नियमित गतिविधि पुनः सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

पार्टी सभापति रवि लामिछानेले सरकारका मन्त्री, निर्वाचित सांसद तथा पार्टी नेताहरूको आचरण सुधार गर्दै पार्टी र सरकारबीचको सम्बन्धलाई थप सुदृढ बनाएर अघि बढ्न निर्देशन दिएका छन्।

प्रतिक्रिया