काठमाडौं । सरकारले चामल, दाल, गेडागुडी लगायतका खाद्य वस्तु खुला रूपमा बिक्री गर्न नपाइने व्यवस्था प्रस्ताव गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय आपूर्ति नीति, २०८३’ को मस्यौदामा खाद्यान्नको गुणस्तर कायम गर्दै नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।
मस्यौदाअनुसार चामल, दाल, गेडागुडी लगायतका खाद्य वस्तु अनिवार्य रूपमा प्याकेजिङ, गुणस्तर परीक्षण र लेबलिङ गरेर मात्र बिक्री–वितरण गर्नुपर्ने व्यवस्था गरिनेछ।
खुला रूपमा बिक्री हुने खाद्यान्नमा मिसावट तथा अखाद्य वस्तुको प्रयोग हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न यस्तो व्यवस्था प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ।
प्रस्तावित व्यवस्था कार्यान्वयनमा आएमा खाद्यान्नको गुणस्तर सुनिश्चित हुनुका साथै मिसावट, अखाद्य वस्तुको बिक्री–वितरण र जथाभावी मूल्यवृद्धि नियन्त्रणमा समेत सहयोग पुग्ने सरकारको अपेक्षा छ।