नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

nepaltext

काठमाडौँ । ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ नेपालमा आज विभिन्न कार्यक्रम गरी विश्व लामखुट्टे दिवस मनाइँदै छ। लामखुट्टेको टोकाइबाट सर्ने रोगको जोखिम घटाउने तथा यसबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।

लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले र जापानिज इन्सेफलाइटिसलगायत विभिन्न कीटजन्य रोग सर्ने गरेका छन्। नेपालमा हालसम्म लामखुट्टेका १६८ प्रजाति पहिचान भइसकेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका अनुसार गत आर्थिक वर्षमा लामखुट्टे तथा अन्य कीटजन्य रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए। पछिल्लो समय जलवायु परिवर्तनका कारण लामखुट्टेको बासस्थान र फैलावटमा परिवर्तन आएसँगै कीटजन्य रोगको जोखिमसमेत बढ्दै गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

तापक्रममा भइरहेको परिवर्तनका कारण लामखुट्टे तथा रोग सार्ने अन्य कीट उच्च हिमाली क्षेत्रसम्म फैलिन थालेका छन्। यसका कारण विगतमा तुलनात्मक रूपमा कम जोखिममा रहेका हिमाली तथा उच्च पहाडी क्षेत्रमा समेत कीटजन्य रोगको सम्भावना बढेको अधिकारीहरूको भनाइ छ।

कीटजन्य रोग नियन्त्रणका लागि सरकारले सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गरी रोग पहिचान, निगरानी तथा नियन्त्रणका काम गर्दै आएको जनाएको छ। रोगको अवस्था र फैलावटबारे नियमित अनुगमन गर्नुका साथै आवश्यकताअनुसार नियन्त्रणका कार्यक्रम सञ्चालन भइरहेको विभागले जनाएको छ।

कीट रोग नियन्त्रण शाखाका प्रमुख डागोकर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लासम्म फैलिएको छ। उनका अनुसार लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, घरवरपर पानी जम्न नदिने, सरसफाइमा विशेष ध्यान दिने तथा लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउनु आवश्यक छ।

स्वास्थ्यकर्मीहरूले डेङ्गुसहित लामखुट्टेजन्य रोगको जोखिम न्यूनीकरणका लागि घरदेखि समुदायस्तरसम्म रोकथामका उपाय प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। लामखुट्टेले अण्डा पार्न सक्ने स्थानमा पानी जम्न नदिने, पानी राख्ने भाँडा छोपेर राख्ने, झुल तथा लामखुट्टे भगाउने सामग्री प्रयोग गर्ने र रोगका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न उनीहरूले सुझाव दिएका छन्।

विश्व लामखुट्टे दिवसका अवसरमा स्वास्थ्य निकायहरूले व्यक्तिगत तथा सामुदायिक सरसफाइलाई प्राथमिकता दिँदै लामखुट्टेजन्य रोगबारे सचेतना बढाउन आह्वान गरेका छन्। बदलिँदो जलवायुका कारण बढ्दो कीटजन्य रोगको जोखिमलाई मध्यनजर गर्दै रोकथाम, निगरानी र नियन्त्रणका कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया