ऋण र निराशा बोकेर अमेरिका फर्किए धुर्मुस

nepaltext

काठमाडौँ– हास्य कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस) चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋणमुक्तिका लागि गरेको प्रयास सफल हुन नसकेपछि निराश हुँदै अमेरिका फर्किएका छन्। नेपालमा करिब दुई महिना बसेर रंगशालासँग जोडिएको आर्थिक समस्या समाधानका लागि विभिन्न निकायमा पहल गरे पनि अपेक्षित परिणाम नआएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा व्यक्त गरेका हुन्।

धुर्मुस–सुन्तली फाउन्डेसनको अगुवाइमा चितवनमा निर्माण सुरु गरिएको रंगशाला पर्याप्त आर्थिक स्रोत जुट्न नसक्दा बीचमै रोकिएको थियो। जनसहयोग र चन्दाबाट निर्माण अघि बढाइए पनि निर्माणका क्रममा ठूलो रकम उधारो भएपछि फाउन्डेसन आर्थिक संकटमा परेको थियो।

प्राविधिक मूल्यांकनअनुसार फाउन्डेसनले रंगशाला निर्माणमा करिब ६० करोड रुपैयाँ बराबरको काम गरेको जनाइएको छ। तर निर्माणका क्रममा विभिन्न व्यक्ति, निर्माण सामग्री आपूर्तिकर्ता तथा संस्थालाई तिर्नुपर्ने गरी १८ करोड ४३ लाख रुपैयाँभन्दा बढी ऋण बाँकी रहेको बताइएको छ।

नेपाल बसाइका क्रममा आफूले राज्यका विभिन्न निकायसँग सहयोग र समाधानका लागि आग्रह गरेको कट्टेलले बताएका छन्। उनका अनुसार भरतपुर महानगरपालिकाले रंगशालाका लागि विनियोजन गरेको १५ करोड रुपैयाँसमेत सार्वजनिक खरिद ऐन र नीतिगत अन्योलका कारण खर्च हुन नसक्ने अवस्था बनेको छ।

दशक लामो सामाजिक अभियानमा आफूले इमानदारीपूर्वक काम गरे पनि राज्यबाट अपेक्षित सहयोग र मूल्यांकन नपाएको उनको गुनासो छ। राम्रो काम गर्न खोज्ने व्यक्तिको नियति नै यस्तै हुने हो कि भन्ने प्रश्नसमेत उनले उठाएका छन्।

अमेरिका फर्किने क्रममा कट्टेलले आफू मानसिक रूपमा निकै पीडित बनेको उल्लेख गरेका छन्। उनले १८ करोडभन्दा बढीको ऋण, अधुरा सपना र निराशा बोकेर मातृभूमि छाड्नुपरेको बताएका छन्।

यद्यपि, कठिन परिस्थितिका बीच पनि देशप्रतिको प्रेम र आशा भने आफूभित्र जीवित रहेको उनको भनाइ छ। समयले सत्य उजागर गर्ने र राज्यले आफूले गरेको संघर्षको मूल्यांकन गर्ने विश्वास व्यक्त गर्दै उनी अमेरिका फर्किएका हुन्।

प्रतिक्रिया