फागुन २१ को निर्वाचन सुरक्षा रणनीतिमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

nepaltext.com

सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को महत्वपूर्ण बैठक चलिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक जना उच्च अधिकारीका अनुसार बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, अर्थमन्त्री रामेश्वरप्रसाद खनाललगायत सुरक्षा तथा प्रशासनका उच्च पदाधिकारीहरूको सहभागिता रहेको छ । बैठकको मुख्य एजेन्डा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र सुरक्षा व्यवस्थापन रहेको बताइएको छ । विशेषगरी उच्च हिमाली भेगमा चिसो मौसमका कारण उत्पन्न हुन सक्ने कठिनाइ र तराई क्षेत्रमा निर्वाचनको दुई दिनअघि पर्ने होली पर्वका बेला हुने सम्भावित भीड, आवागमन र सामाजिक गतिविधिले निम्त्याउन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै आवश्यक रणनीति, जनशक्ति परिचालन र सुरक्षा संयन्त्रको तयारीबारे गम्भीर छलफल भइरहेको स्रोतले जनाएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन सबै निकायबीच समन्वय कसरी प्रभावकारी बनाउने भन्ने विषय पनि बैठकको केन्द्रमा रहेको बुझिएको छ ।

प्रतिक्रिया