सरकारको सफलता नै जनताको सफलता हो

nepaltext

श्रीराज पाेखरेल

सरकारको सफलता जनताको सफलतासँग जोडिएको हुन्छ, र सरकारको कमजोरीको प्रत्यक्ष असर पनि अन्ततः जनतामाथि नै पर्छ। त्यसैले सरकारका राम्रा काममा समर्थन र कमजोरीमा रचनात्मक आलोचना-दुवै देशका लागि उत्तिकै आवश्यक छन्। लोकतन्त्रमा अन्धसमर्थन र अन्धविरोध होइन, तथ्यमा आधारित समर्थन र तर्कपूर्ण खबरदारीको संस्कार विकास हुनुपर्छ।

नयाँ सरकारले सुरुवाती चरणमा केही यस्ता संकेत दिएको थियो, जसले जनतामा आशा र विश्वास जगाएको थियो। सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने प्रतिबद्धताले शिक्षाको अवस्था बदलिने अपेक्षा बढाएको छ। सार्वजनिक खरिद तथा ठेक्का प्रणालीलाई थप पारदर्शी, प्रतिस्पर्धी र व्यवस्थित बनाउने प्रयासले निर्माण व्यवसायीमा पनि उत्साह पैदा गरेको देखिन्छ। लामो समयदेखि निष्क्रिय रहेका व्यवसाय तथा कम्पनीको दर्ता–नवीकरणमा दिइएका केही छुटले व्यवसायीलाई राहतको अनुभूति गराएको छ। सुशासन, सेवा प्रवाह र प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धताले पनि सकारात्मक सन्देश दिएको छ।

तर जनताको अपेक्षा यतिमै सीमित छैन।

जनताले सरकारबाट रोजगारीका अवसर चाहेका छन्। आम्दानी बढाउने वातावरण चाहेका छन्। स्वास्थ्य उपचार सहज र सर्वसुलभ होस् भन्ने चाहना छ। कर्मचारीको तलबसँगै सामाजिक सुरक्षा भत्तालाई पनि बढ्दो महँगीअनुसार समयसापेक्ष बनाउनुपर्ने अपेक्षा छ। कर नीति लागू गर्नुअघि पर्याप्त तयारी, सरोकारवालासँग संवाद र प्रभाव मूल्याङ्कन गरिनुपर्छ भन्ने आवाज पनि उत्तिकै महत्वपूर्ण छ।

ट्राफिक कर, सुकुम्बासी समस्या तथा यस्तै संवेदनशील विषयमा राज्यले निर्णय मात्र सुनाउने होइन, नागरिकसँग संवाद गरेर न्यायपूर्ण र दीर्घकालीन समाधान खोज्नुपर्छ। जनताको आय नबढाई करको दायरा मात्र विस्तार गर्ने प्रयास गरियो भने त्यसले राज्यप्रति विश्वास बढाउने होइन, असन्तुष्टि र निराशा बढाउने जोखिम हुन्छ। कर तिर्ने नागरिकले त्यसको प्रतिफल विकास, सेवा र सुरक्षाका रूपमा अनुभूति गर्न सक्नुपर्छ।

सरकारले जनताको दैनिक जीवनमा परिवर्तनको अनुभूति गराउन सक्यो भने मात्र नीति, भाषण र प्रतिबद्धताको वास्तविक अर्थ स्थापित हुन्छ।

नेपालको राजनीतिक इतिहासले एउटा महत्वपूर्ण पाठ सिकाएको छ—हिजो लोकप्रिय भएका नेता समयसँगै अलोकप्रिय भएका छन्, र हिजो अलोकप्रिय ठानिएका व्यक्ति फेरि जनताको विश्वास जित्न सफल भएका छन्। त्यसैले राजनीति स्थायी जित वा स्थायी हारको खेल होइन। यो जनविश्वास जित्ने निरन्तर यात्राको नाम हो।

आजको लोकप्रियता भोलिको ग्यारेन्टी होइन। त्यसैले सत्तामा पुगेपछि जनताको आवाज सुन्न छाड्नु राजनीतिक भूल हुनेछ। त्यस्तै, विपक्षमा पुगेपछि केवल सरकारलाई असफल देखाउने उद्देश्यले विरोध गर्नु पनि जिम्मेवार लोकतान्त्रिक अभ्यास होइन।

अब विगतका आन्दोलन, विभाजन, आरोप–प्रत्यारोप र राजनीतिक कटुताबाट पाठ सिक्ने समय आएको छ। गल्ती नगर्ने मानिस हुँदैन। तर गल्ती स्वीकार नगर्ने र त्यसबाट सिक्न नचाहने प्रवृत्तिबाट सुधारको अपेक्षा गर्न कठिन हुन्छ। त्यसैले राम्रा र नराम्रा कामलाई एउटै आँखाले होइन, तथ्य र परिणामका आधारमा छुट्टाछुट्टै मूल्याङ्कन गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्छ।

सरकारले राम्रो काम गर्दा प्रतिपक्षले त्यसको समर्थन गर्न सक्नुपर्छ। सरकारले गल्ती गर्दा प्रतिपक्षले तथ्य र तर्कसहित खबरदारी गर्न सक्नुपर्छ। त्यस्तै, सरकारले पनि आलोचनालाई शत्रुताका रूपमा होइन, सुधारको अवसरका रूपमा लिन सक्नुपर्छ।

जित्नेले “देश बनाउने ठेक्का मेरै हो” भन्ने अहंकार राख्नु हुँदैन। हार्नेले पनि “सरकारले गरेको सबै कुरा गलत छ” भन्ने मानसिकता त्याग्नुपर्छ। सरकार र प्रतिपक्ष दुवै राज्यका अंग हुन्। सत्ता पक्षको जिम्मेवारी शासन गर्नु हो भने प्रतिपक्षको जिम्मेवारी खबरदारी गर्नु मात्र होइन, आवश्यक पर्दा वैकल्पिक नीति र समाधान प्रस्तुत गर्नु पनि हो।

अन्ततः देश कुनै एउटा दल, नेता वा सरकारको मात्र होइन। यो सबै नागरिकको साझा घर हो। सरकार बदलिँदैमा राष्ट्र बदलिँदैन; राष्ट्र निर्माणका लागि राजनीतिक संस्कार, संस्थागत क्षमता, नागरिक सहभागिता र दीर्घकालीन सोच आवश्यक हुन्छ।

हामी बुद्धको देशका नागरिक हौँ। यही भूमिबाट शान्ति, सहकार्य, सहिष्णुता र सकारात्मक प्रतिस्पर्धाको सन्देश संसारले पाउने वातावरण बनाउन सक्नुपर्छ। राजनीतिक मतभिन्नता स्वाभाविक हो, तर मतभिन्नता शत्रुतामा बदलिनु हुँदैन। प्रतिस्पर्धा विकास र विचारमा होस्, एकअर्कालाई समाप्त पार्ने होडमा होइन।

बिहानीले दिउँसोको संकेत गरेझैँ नयाँ सरकारले सुरुवातमा जगाएको आशालाई व्यवहारमा रूपान्तरण गर्दै अघि बढोस्। जनताको अपेक्षा पूरा गर्ने दिशामा इमानदार प्रयास होस्। राम्रो काममा सबैले साथ दिऔँ, कमजोरीमा तथ्य, प्रमाण र तर्कसहित खबरदारी गरौँ। यही नै जिम्मेवार नागरिकता हो, यही सशक्त लोकतन्त्रको पहिचान हो।

सरकारका लागि एउटा स्मरणीय भनाइ छ

“आलोचनालाई नजिक राख, चाप्लुसीलाई टाढा राख। शत्रुसँग म आफैँ जोगिन सक्छु; हे ईश्वर, मित्रका नाममा हुने भ्रम र चाप्लुसीबाट भने जोगाइदेऊ।”

सत्ताको वरिपरि सत्य बोल्नेभन्दा प्रशंसा गर्नेहरू बढी देखिन थाले भने सरकार आफैँप्रति भ्रमित हुन सक्छ। त्यसैले आलोचना गर्ने नागरिक, पत्रकार, प्रतिपक्ष र बुद्धिजीवीलाई शत्रु ठान्ने होइन, लोकतन्त्रका आवश्यक पहरेदारका रूपमा हेर्न सक्नुपर्छ।

यही आत्मसमीक्षा, विनम्रता, सहकार्य र जिम्मेवारीबोधका साथ राज्य अघि बढ्न सकोस्। जनताको आशा निराशामा होइन, विश्वासमा बदलियोस्। सरकार सफल होस्, किनकि सरकारको सफलता अन्ततः जनताको सफलता र देशको सफलता हो।

एक जिम्मेवार नेपाली नागरिकको यही शुभकामना।

प्रतिक्रिया