सरकारी अनुगमन टोली राप्रपा कार्यालयमा, निर्वाचन तयारीबारे छलफल

nepaltext.com

काठमाडौं । सरकारले गठन गरेको अनुगमन टोलीले राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर अनुगमन तथा भेटवार्ता गरेको छ। आसन्न निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा सरकारले गरिरहेको तयारी र प्रयासबारे जानकारी गराउन मन्त्रीसहितको प्रतिनिधिमण्डल पार्टी कार्यालय पुगेको हो। कानुनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा गठित अनुगमन समितिमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सहभागी थिए।

अनुगमनका क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भएको भेटमा सरकारी टोलीले निर्वाचनको अनुकूल वातावरण निर्माण गर्न र आवश्यक तयारीलाई तीव्रता दिन सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी गराएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए। निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटिरहेको र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा संयन्त्र सक्षम रहेको विषयमा पनि सरकारी टोलीले आश्वस्त पार्ने प्रयास गरेको उनले बताए।

यस अवसरमा राप्रपाले निर्वाचनअघि नै मुलुकलाई नवीन समझदारीको फराकिलो राजमार्गमा अघि बढाउनुपर्ने आफ्नो धारणा सरकारसमक्ष पुनःस्मरण गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। अध्यक्ष लिङ्देनले प्रजातान्त्रिक दलका रूपमा राप्रपाले निर्वाचनलाई सकारात्मक र जिम्मेवार ढंगले सदुपयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

प्रतिक्रिया