रामेछाप । रामेछापको मन्थलीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुबाहक रात्रि बस झापामा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
अस्थायी प्रहरी चौकी माईधारका अनुसार प्र.१–०१–००१ क ४२०९ नम्बरको बस मंगलबार बिहान करिब ४ बजे शिवसताक्षि नगरपालिका–१० माईधार चौक नजिक अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँदा दुर्घटना भएको हो।
बसमा २५ जना सवारमध्ये १९ जना घाइते भएका र बाँकी ६ जना यात्रु सकुशल आफ्ना गन्तव्यतर्फ गएको प्रहरीले जनाएको छ। घाइतेहरुलाई प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पठाइएको छ।
दुर्घटनामा बस चालक झापा मेचिनगर नगरपालिका–६ का ३९ वर्षीय राजु भुजेल टाउकोमा चोट लागेका छन्। अन्य घाइतेमा रामेछाप मन्थली नगरपालिका–१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी, झापा गाउँपालिका–३ की १७ वर्षीया इक्षा लिम्बु, मन्थली–९ का ३५ वर्षीय भीमप्रसाद पुरी, कचनकवल–४ का २० वर्षीय रविलाल गनेस, ठाडादेवी–३ की ६५ वर्षीया मिटु खत्री र कचनकवल–४ की २१ वर्षीया परिना गनेस रहेका छन्।
त्यसैगरी बिर्तामोड–१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की र उनका नौ वर्षीय छोरा एलोन कार्की, दोलखा बैनेश्वर–३ का ३० वर्षीय प्रदीपबहादुर बस्नेत, रामेछाप देउरालीका ८ वर्षीय अनु श्रेष्ठ, दोलखा तामाकोशी–३ की २८ वर्षीया कुमार बस्याल, कचनकवल–६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड–५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ र उनका छोरा रिदम श्रेष्ठ (९), बिर्तामोड–५ का २३ वर्षीय पूर्णबहादुर नेपाली, १८ वर्षीया सितल नेपाली, बाह्रदशी–५ का २१ वर्षीय अविषेक राजवंशी र झापा गाउँपालिका–२ का १८ वर्षीय श्यामलाल किस्कु पनि घाइते भएका छन्।
दुर्घटनापछि सडक अबरुद्ध नभएको र बस हाल घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।