निर्वाचन प्रक्रियासँगै सभामुख–उपसभामुख पद रिक्त हुँदै

nepaltext.com

१३ पुस, काठमाडौँ — प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले आफ्नो कार्यकाल पूरा गरी आजैबाट औपचारिक रूपमा बिदा लिने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार घिमिरेले सरकारी निवाससमेत छोड्ने तयारी गरिसकेका छन्। संसद् पुनर्स्थापनासम्बन्धी विषय अदालतमा विचाराधीन रहेकाले यसबारे सार्वजनिक रूपमा अभिव्यक्ति दिनुपर्ने अवस्था आउन सक्ने र प्रक्रियागत जटिलता नहोस् भन्ने बुझाइका कारण सभामुख घिमिरेले कुनै औपचारिक सार्वजनिक घोषणा नगरी शान्त रूपमा बिदा लिन लागेको अधिकारीको भनाइ छ। उनले भने, ‘पुनर्स्थापनाको मुद्दा अदालतमा पुगेको र यसबारे सम्बन्धित क्षेत्रमा जवाफ दिनुपर्ने अवस्था आउने हुँदा प्रक्रियागत रुपमा अपठ्यारो पर्ने बुझेर उहाँ सार्वजनिक घोषणा नगरी बिदा हुनुहुन्छ,’ र थपे, ‘आजैदेखि कार्यालय जानुहुन्न । निवास सर्ने तयारी गर्दै गर्नुहुन्छ, डेरा पनि खोजिसक्नु भएको छ ।’

संविधानमा प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका सभामुख र उपसभामुख प्रतिनिधि सभाको अर्को निर्वाचनको उम्मेदवारी दिने अघिल्लो दिनसम्म पदमा बहाल रहन सक्ने व्यवस्था रहेको छ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ र यसका लागि आज र भोलि निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउने कार्यतालिका रहेको छ। यही संवैधानिक व्यवस्था र निर्वाचन तालिकाको आधारमा हेर्दा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको कार्यकाल आज राति १२ बजेदेखि औपचारिक रूपमा समाप्त भएको हो।

प्रतिक्रिया