बीपी स्मृति दिवसमा दोलखामा ग्रीन रन सम्पन्न, तीन विधामा समीर, दर्शना र आदित्य प्रथम

nepaltext

चरिकोट । ४४औँ बीपी स्मृति दिवसको अवसरमा दोलखामा आयोजित ग्रीन रन प्रतियोगिता सम्पन्न भएको छ। नेपाल विद्यार्थी सङ्घ दोलखा र नन्दप्रसाद जानुका फाउन्डेसनको संयुक्त आयोजनामा भएको विद्यालयस्तरीय तथा खुला दौड प्रतियोगितामा तीन विधाका विजेता घोषणा गरिएको हो।

विद्यालयस्तरीय छात्रतर्फ समीर थामी प्रथम, सुरेन्द्र कुँवर द्वितीय र पासाङ तामाङ तृतीय भए। छात्रातर्फ दर्शना श्रेष्ठले प्रथम स्थान हासिल गरिन् भने पुजना अधिकारी द्वितीय र टङ्की थामी तृतीय भए।

विद्यालयस्तरीय प्रतियोगिताका दुवै समूहका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार नगदसहित प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेका छन्।

त्यस्तै, खुला दौड प्रतियोगितातर्फ आदित्य कुमार यादव प्रथम, अच्युत पराजुली द्वितीय र अङ्कित माझी तृतीय भएका छन्।

प्रतियोगिताका विजेताहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नन्दप्रसाद जानुका फाउन्डेसनका अध्यक्ष अजयबाबु शिवाकोटी, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा र भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो।

पुरस्कार वितरणपछि नेविसङ्घ नेता निमेश कायस्थको अध्यक्षतामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अजयबाबु शिवाकोटीले बीपी कोइरालाले देख्नुभएको समुन्नत नेपालको सपना पूरा गर्न नयाँ पुस्तासँग सहकार्य गर्दै अघि बढ्न कांग्रेस नेतृत्व तयार रहेको बताउनुभयो। उहाँले प्रतियोगितामा सहभागी सबै खेलाडी तथा सहभागीलाई धन्यवाद व्यक्त गर्नुभयो।

आयोजकका अनुसार बीपी कोइरालाको स्मृतिलाई जीवन्त राख्दै स्वास्थ्य, अनुशासन, वातावरण संरक्षण र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले ग्रीन रन आयोजना गरिएको हो। प्रतियोगितामा करिब २०० विद्यार्थी तथा स्थानीय धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

करिब ३ किलोमिटर दूरीको दौड सदरमुकाम चरिकोटस्थित सातदोबाटोबाट सुरु भई पाटीखोला, जिल्ला वन कार्यालय, टुँडिखेल र बीच बजार हुँदै पुनः सातदोबाटोमै पुगेर समापन भएको थियो।


प्रतिक्रिया