काठमाडौंको भृकुटीमण्डपमा आज नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ । पार्टीको विधान, नियमावली, विशेष महाधिवेशनसम्बन्धी कार्यविधि तथा निर्वाचन निर्देशिकाअनुसार निर्वाचन प्रक्रिया अघि बढाइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मंगलबार बिहान वरिष्ठ अधिवक्ता सीताराम के.सी.को अध्यक्षतामा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले सम्पूर्ण निर्वाचन कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै औपचारिक रूपमा मतदान प्रक्रिया सुरु गरेको हो । समितिका अनुसार आज दिनभर महाधिवेशन प्रतिनिधिहरूले भृकुटीमण्डपमै मतदान गर्नेछन्, र यही मतदानबाट पार्टीको भावी नेतृत्व तथा शक्ति सन्तुलनको दिशा तय हुने भएकाले यसलाई कांग्रेसको राजनीतिक यात्राको निर्णायक मोडका रूपमा हेरिएको छ । संगठनात्मक असन्तुलन र नेतृत्वसम्बन्धी विवाद समाधान गर्ने उद्देश्यले बोलाइएको विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएपछि कांग्रेस १५औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो थप स्पष्ट हुने अपेक्षा गरिएको छ । निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सबै तयारी पूरा भइसकेको जनाउँदै समितिले भृकुटीमण्डपमा कडा सुरक्षा व्यवस्था, मतदान र गणनास्थलमा आवश्यक प्राविधिक तथा प्रशासनिक संयन्त्र परिचालन गरिएको जानकारी दिएको छ ।