निर्वाचन प्रयोजनका लागि १९ अर्बभन्दा बढी बजेट स्रोत सहमति

nepaltext.com

१६ माघ, काठमाडौं । अर्थ मन्त्रालयले निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ। मन्त्रालयको तथ्यांकअनुसार यसमध्ये हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको छ। २१ फागुनमा निर्धारित निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १८ कात्तिकमा मात्र ४ अर्ब ९६ करोड रुपैयाँको स्रोत सहमति दिएको थियो। त्यसपछि २० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँको स्रोत सहमति प्रदान गरिएको तथ्यांकमा उल्लेख छ। यसअनुसार निर्वाचन आयोगलाई कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ बराबरको स्रोत सहमति दिइएको छ। निर्वाचन आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ निकासा गरिएको थियो भने हालसम्म आयोगलाई मात्रै ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको आयोगकै तथ्यांकमा उल्लेख छ। निर्वाचन प्रयोजनका लागि सुरक्षा निकायलाई पनि ठूलो मात्रामा बजेट स्रोत सहमति दिइएको छ। राष्ट्रिय अनुसन्धान विभागका लागि अर्थ मन्त्रालयले १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँको स्रोत सहमति दिएको थियो। त्यस्तै, नेपाली सेनालाई उपकरण खरिदका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको छ। गृह मन्त्रालय र मातहतका निकायलाई १० अर्ब ३९ करोड रुपैयाँ बराबरको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ। साथै, नेपाली सेनालाई २० पुसमा थप १ अर्ब ९४ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको थियो।

प्रतिक्रिया