संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ कडाइका साथ लागू गराउन परिपत्र गरेको छ । निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि आचारसंहिता लागू गरिसकेको सन्दर्भमा सम्बन्धित सबै स्थानीय तह र जिल्ला समन्वय समितिले आ–आफ्नो क्षेत्रभित्र यसको पूर्ण कार्यान्वयन गराउनुपर्ने भन्दै मन्त्रालयले औपचारिक पत्राचारमार्फत ध्यानाकर्षण गराएको हो । मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलद्वारा जारी पत्रमा सरकारद्वारा पुस १२ गते नेपाल राजपत्रमा प्रकाशित आचारसंहिता अर्को सूचना नआएसम्म लागू रहने उल्लेख छ । यही आचारसंहिता माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी कार्यान्वयनमा ल्याइएको हो । निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिताको परिच्छेद १०, अनुसूची ५ र दफा ५५ मा व्यवस्था गरिएका नियमहरू पालना गराउन सबै निकायलाई आवश्यक समन्वय र निगरानी गर्न मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ ।