काठमाडौँ, ९ पुस । समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको सम्मानमा हुलाक टिकट सार्वजनिक गरिएको छ। हुलाक सेवा विभागले आयोजना गरेको कार्यक्रममा गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्दै सरकारले उनको नाममा हुलाक टिकट सार्वजनिक गरेको हो। उक्त कार्यक्रममा उपसभामुख इन्दिरा राना र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्व. गोयलको हुलाक टिकटमा टाँचा प्रदान गरे।
कार्यक्रममा बोल्दै मन्त्री खरेलले गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नु ऐतिहासिक क्षण भएको बताए। उनले भने, ‘अध्यात्मले भौतिक शरीर रहँदैन, आत्मा सधैं रहन्छ। म एउटा कुरा थप्छु – मान्छे कर्मले सधैं अमर रहन्छ।’ मन्त्री खरेलले थपे, ‘आज ओमप्रकाश गोयल हाम्रो हुलाक टिकट मार्फत अमर हुनुभयो। यो हुलाक टिकट ऐतिहासिक छ र यसले नेपाल र नेपालीमाझ उहाँलाई सधैं अमर बनाइरहनेछ।’
उनले देशले स्वर्गीय गोयलको सम्मान गर्नुपर्नेमा जोड दिंदै, हुलाक टिकटमार्फत उनको योगदानको सम्झना कायम रहिरहने बताए।