काठमाडौँ -प्रतिनिधिसभाको सोमबारको बैठकमा विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्। सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नासाथ नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन्।
गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले भारतले नेपालको भूमि मिचेको आशयको अभिव्यक्ति दिएपछि विपक्षी दलका सांसदहरूले निरन्तर बैठकमा विरोध जनाउँदै आएका छन्।
प्रधानमन्त्री शाहले उक्त अभिव्यक्तिबारे अहिलेसम्म स्पष्टीकरण दिएका छैनन्। त्यस्तै, सभामुख अर्यालले पनि उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छैनन्। यही विषयलाई लिएर विपक्षी सांसदहरूले सोमबारको बैठकमा समेत विरोध जनाएका हुन्।
२५ साउन २०८३, सोमबार ०१:४२ मा प्रकाशित