काभ्रेपलाञ्चोक - दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–री हिमाल आरोहणका क्रममा गत वर्ष हिमपहिरोमा परी बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोषकुमार खड़काका अनुसार गत वर्ष कात्तिक १७ गते यलुङ–री हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका पाँच जनाको शव अहिले फेला परेको हो।
स्थानीयवासीले हिमाल क्षेत्रमा पाँचवटा शव देखिएको जानकारी दिएपछि शव सङ्कलन तथा पहिचानका लागि ड्रिम डेस्टिनेसनले शुक्रबार हेलिकोप्टर पठाएको थियो। प्रतिकूल मौसमका कारण तत्काल घटनास्थल पुग्न नसकेको हेलिकोप्टर सोमबार हिमाल क्षेत्रमा पुगेको हो।
हेलिकोप्टरले तीनवटा शव गोंगर भन्ने स्थानमा ल्याइसकेको र बाँकी दुई शव ल्याउन पुनः घटनास्थलतर्फ गएको सूचना अधिकारी खड़काले बताए। मौसममा सुधार आए सोमबार नै पाँचै शव गोंगर ल्याइने उनको भनाइ छ।
गत वर्ष नेपाली तथा विदेशी गरी विभिन्न समूहमा १५ जना आरोही पाँच हजार ६३० मिटर उचाइमा रहेको यलुङ–री हिमाल आरोहणका लागि पुगेका थिए। त्यही क्रममा हिमपहिरोमा परी सात जना बेपत्ता भएका थिए भने आठ जनाको सकुशल उद्धार गरिएको थियो।
बेपत्ता भएकामध्ये दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का पदम तामाङ र सोलुखुम्बुका मेरे कार्कीको शव हिमपहिरोपछि नै फेला परेको थियो। बाँकी पाँच जनाको शव भने लामो समयसम्म फेला पर्न सकेको थिएन। लगातार हिमपात भएपछि त्यसबेला खोजी कार्य स्थगित गरिएको थियो।
अहिले फेला परेका पाँच शव विदेशी आरोहीका हुन्। उनीहरूमा फ्रान्सकी मेनफेडी क्रिस्टिना एन्ड्रे, इटालीका पाउलो कोको र मार्कोस किरचिलर, जर्मनीका ज्याकोब इसरिवर तथा क्यानडाका मार्को डि मारसेलो रहेका छन्।