विजय–संगीताको सम्बन्धविच्छेद प्रकरणमा नयाँ मोड, संगीता‍ले फिर्ता लिइन् निवेदन

nepaltext

काठमाडौं । दक्षिण भारतीय अभिनेता तथा तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजय र उनकी पत्नी संगीता सोर्नालिङ्गमको वैवाहिक सम्बन्धबारे लामो समयदेखि चल्दै आएको चर्चाले नयाँ मोड लिएको छ। संगीताले सम्बन्धविच्छेदका लागि दायर गरेको निवेदन फिर्ता लिएपछि अदालतले उक्त मुद्दा बन्द गरिदिएको छ।

संगीताले भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित भएर सम्बन्धविच्छेदको निवेदन फिर्ता लिने निर्णयबारे जानकारी गराएकी थिइन्। उनले यसअघि गत फेब्रुअरीमा चेंगलपट्टुस्थित पारिवारिक अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दायर गरेकी थिइन्।

निवेदनमा संगीताले वैवाहिक जीवनमा उत्पन्न आपसी मतभेदलाई सम्बन्धविच्छेदको आधारका रूपमा उल्लेख गरेकी थिइन्। उनले स्थायी भरणपोषणका साथै चेन्नईको नीलाङ्कराईस्थित वैवाहिक घरमा बस्न पाउने अधिकारसमेत माग गरेकी थिइन्।

 

विजय र संगीताबीचको सम्बन्धविच्छेदसम्बन्धी मुद्दाको सुनुवाइ यसअघि पटक–पटक स्थगित हुँदै आएको थियो। गत जुन १५ मा संगीताले मुद्दा फिर्ता लिन चाहेको जानकारी गराएपछि सुनुवाइ स्थगित गरिएको थियो। त्यसपछि अगस्ट ७ का लागि अर्को सुनुवाइ तोकिएको थियो।

पछिल्लो सुनुवाइमा भने संगीताले औपचारिक रूपमा निवेदन फिर्ता लिएपछि अदालतले मुद्दा टुंग्याएको हो।

विजय र संगीताले सन् १९९९ अगस्ट २५ मा चेन्नईमा परम्परागत हिन्दु संस्कारअनुसार विवाह गरेका थिए। उनीहरूको वैवाहिक सम्बन्ध करिब तीन दशक पुरानो हो। दम्पतीका दुई सन्तान छन्।

सन् २०२३ देखि संगीता विजयका सार्वजनिक कार्यक्रमहरूमा कमै देखिन थालेपछि उनीहरूको वैवाहिक सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी हुँदै आएको थियो। विशेषगरी विजयको राजनीतिक दल तमिलागा वेट्री कझगम (टीभीके) का महत्वपूर्ण कार्यक्रममा संगीताको अनुपस्थितिले यस्तो चर्चालाई थप बल दिएको थियो।

यद्यपि, संगीताले सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएसँगै उनीहरूको वैवाहिक सम्बन्धको वास्तविक अवस्था भने अझै स्पष्ट भएको छैन। निवेदन फिर्ता लिनुको कारणबारे पनि विजय वा संगीताको तर्फबाट विस्तृत आधिकारिक धारणा सार्वजनिक भएको छैन।

यससँगै विजय–संगीताको सम्बन्धविच्छेदलाई लिएर लामो समयदेखि चल्दै आएको कानुनी प्रक्रिया भने तत्कालका लागि समाप्त भएको छ।

प्रतिक्रिया