पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

nepaltext

काठमाडौँ -सिन्धुपाल्चोकको तातोपानी नाका सडक अवरुद्ध भएपछि २६ दिनदेखि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। बाह्रबिसे–कोदारी सडकखण्डका विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध हुँदा नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाकामार्फत हुने आयात–निर्यात प्रभावित भएको हो।

बाह्रबिसे–कोदारी सडकखण्ड २६ किलोमिटर लामो छ। भोटेकोसी गाउँपालिका–२ स्थित कोदारीको इको क्षेत्रमा असार ३१ गते गएको पहिरोले सडक भासिएपछि दुई देशबीचको सडक सम्पर्कसमेत प्रभावित भएको छ। त्यस्तै, अरनिको राजमार्गको डाकलाङ क्षेत्रमा साउन ३ गतेदेखि र लिपिङ बजारनजिक साउन १९ गतेदेखि सडक अवरुद्ध छ। वर्षा नरोकिँदा कोदारी, डाकलाङलगायत क्षेत्रमा पहिरो जाने क्रम पनि जारी छ।

तातोपानी भन्सार कार्यालयका अनुसार नाका बन्द हुँदा चीनतर्फका सिगात्से, ल्हासा र न्यालमलगायत क्षेत्रमा करिब ५०० कन्टेनर रोकिएका छन्। नेपालतर्फ कोदारीमाथि ४६ कन्टेनरमा करिब २० अर्ब रुपैयाँभन्दा बढी मूल्यका सामान रोकिएका छन्। दसैँ–तिहार लक्षित सामग्री, स्याउ, लसुन, उद्योग तथा जलविद्युत् आयोजनाका उपकरणलगायत सामान लामो समयदेखि गन्तव्यमा पुग्न सकेका छैनन्।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्रप्रकाश गिरीका अनुसार चालु आर्थिक वर्षमा सरकारले उक्त नाकाबाट २५ अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। तर, सडक अवरुद्ध भएपछि भन्सारको कामसमेत ठप्प भएको उनले बताए। नाका बन्द हुँदा दुई देशबीचको व्यापारसँगै मानिसको आवतजावतमा समेत समस्या परेको छ।

 

सडक अवरुद्ध हुँदा व्यवसायी मात्र नभई स्थानीय मजदुर र भन्सार तथा यातायातसँग सम्बन्धित कामदार पनि प्रभावित भएका छन्। करिब ६४० मजदुर तथा ट्रान्सपोर्ट र भन्सारसम्बन्धी काम गर्ने ३०० जनाले काम गुमाएको व्यवसायीहरूको भनाइ छ। सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घलगायत संस्थाले उत्तरी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।

तातोपानी नाकाबाट तयारी पोशाक, जलविद्युत् आयोजनाका हेभी इक्विपमेन्ट, कृषि औजार, जुत्ता–चप्पल, ब्याग, स्टेशनरी, फर्निचर, खेलौना, फलफूल, शृङ्गार सामग्री, बीउबिजन, विद्युतीय गाडी, कम्प्युटर पार्टस् तथा उद्योगका कच्चा पदार्थलगायत वस्तु आयात हुँदै आएका छन्। नेपाली बजारका धेरै उपभोग्य वस्तु चीनबाट आउने भएकाले नाका लामो समय बन्द रहँदा बजारमा समेत असर पर्ने व्यवसायीहरू बताउँछन्।

भोटेकोसी गाउँपालिका–२ का अध्यक्ष पासाङ नुर्पु शेर्पाका अनुसार इको क्षेत्रमा जमिन भासिएकाले सामान्य रूपमा सडक मर्मत गरेर समस्या समाधान गर्न कठिन छ। पहिरोमाथि रहेको कोदारी थामी गाउँमा करिब ६० परिवार बसोबास गर्छन्। जमिन थप भासिँदै गएमा बस्ती नै जोखिममा पर्न सक्ने उनको भनाइ छ। चारकिलो पहिरोमाथि रहेको पन्थली गाउँका ५० भन्दा बढी घर पनि जोखिममा रहेको उनले बताए।

सडक डिभिजन कार्यालय चरिकोटका अनुसार डाकलाङ, घट्टेखोला र इको क्षेत्रमा पहिरोका कारण आवतजावत कठिन बनेको छ। इको पहिरो नियन्त्रणका लागि चिनियाँ अनुदान प्राप्त भए पनि समयमै काम सुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिको गुनासो छ।

वर्षायाम सुरु हुनेबित्तिकै पहिरो जाने र सडक अवरुद्ध भएपछि मात्र मर्मतको काम थाल्ने प्रवृत्तिका कारण हरेक वर्ष तातोपानी नाका प्रभावित हुँदै आएको व्यवसायीहरूको भनाइ छ। गत वर्ष पनि असारदेखि असोजसम्म यही क्षेत्रमा सडक अवरुद्ध हुँदा दसैँ–तिहारका लागि आयात गरिएका सामान नेपाल भित्रिन सकेका थिएनन्।

तातोपानी नाका नेपाल–चीनबीचको छोटो र महत्वपूर्ण व्यापारिक मार्ग भएकाले सडकको दीर्घकालीन समाधान खोज्नुपर्ने स्थानीय व्यवसायी तथा जनप्रतिनिधिको माग छ। हरेक वर्ष दोहोरिने पहिरोको समस्या समाधान नगरे आगामी वर्षहरूमा पनि व्यापार, राजस्व र स्थानीय रोजगारीमा ठूलो असर पर्ने देखिन्छ।

प्रतिक्रिया