धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईँले छुट्टै पार्टी खोल्ने

nepaltext

काठमाडौँ । राप्रपाबाट अलग भएर नेता धवलशमशेर राणाले नयाँ पार्टी गठनको तयारी गरिरहेका बेला मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पनि आफ्नै नेतृत्वमा छुट्टै पार्टी गठन गर्ने घोषणा गरेका छन् ।

राणा र प्रसाईँले यसअघि एउटै पार्टी गठन गर्ने तयारी गरे पनि उनीहरूबीच सहमति जुट्न नसकेपछि अलग–अलग पार्टी गठनको तयारी भएको हो । राणाले शुक्रबार निर्वाचन आयोगमा ‘जय नेपाल’ नामक पार्टी दर्ता गर्ने तयारी गरेका छन् ।

यता, प्रसाईँले पनि शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक तथा शुभेच्छुकलाई केही समय धैर्य गर्न आग्रह गर्दै नयाँ पार्टी छिट्टै घोषणा हुने बताएका छन् ।

प्रसाईँले बन्ने नयाँ पार्टी सबै नेपाली नागरिक, जातजाति र धर्मको साझा पार्टी हुने दाबी गरेका छन् । उनले वैदिक सनातनी हिन्दु अधिराज्यको अवधारणासहित पार्टीले देशका पीडित, शोषित, उत्पीडित तथा आम नागरिकको हक, अधिकार र न्यायका लागि काम गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘अब बन्ने हाम्रो पार्टी सबै नेपाली नागरिकहरूको, सबै जातजाति र सबै धर्मको साझा पार्टी बन्नेछ । वैदिक सनातनी हिन्दु अधिराज्यसहितको यो पार्टी देशका पीडित, शोषित, उत्पीडित तथा आम नागरिकको हक, अधिकार र न्यायका लागि समर्पित हुनेछ । केही समय धैर्य गर्नुहोला । तपाईँ हाम्रो पार्टी छिट्टै खुल्नेछ ।’

प्रसाईँले २००४ सालदेखि २०८२ सालसम्म विभिन्न पार्टी गठन र नेतृत्व परिवर्तन भए पनि गरिबीको रेखामुनि रहेका सर्वहारा, भुइँमान्छे, उत्पीडित वर्ग तथा भूमिहीन सुकुम्बासीको अवस्थामा अपेक्षित सुधार आउन नसकेको बताएका छन् ।

लघुवित्त, सहकारी, बैंक तथा मिटरब्याजीको चर्को ब्याजको चक्रमा परेर घरबार गुमाएका र सडकका पेटी तथा खोला किनारमा अव्यवस्थित बसोबास गर्न बाध्य नागरिकको जीवनस्तरमा समेत परिवर्तन आउन नसकेको उनको भनाइ छ ।

‘त्यसैले कुनै पनि पार्टी ती नागरिकहरूको वास्तविक पार्टी बन्न सकेन,’ प्रसाईँले भनेका छन् । आफूहरूले राजाको हातबाट पानसमा दियो बालेर, शान्तिको दूत परेवा उडाएर र राजालाई साक्षी राख्दै नागरिकका मुद्दा बोकेर अघि बढेको उनले राप्रपा छाडेर आएका नेताहरूको सन्दर्भमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया