गगनलाई अस्वीकार गरेर कांग्रेस अघि बढ्दैन : सुजाता कोइराला

nepaltext

काठमाडौं — नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको आन्तरिक विवाद अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएकी छन्। उनले सभापति गगन थापाको नेतृत्वप्रति आफू पूर्ण विश्वस्त रहेको भन्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि अहंकार र जिद्दी त्यागेर थापालाई स्वीकार गर्नुपर्ने धारणा राखिन्।

शुक्रबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै कोइरालाले पार्टीको एकताका लागि दुवै पक्षले केही विषयमा त्याग र सम्झौता गर्नुपर्ने बताइन्।

उनले कांग्रेसलाई कमजोर बनाउने प्रयास विगतदेखि नै हुँदै आएको दाबी गर्दै अहिले पनि त्यस्ता गतिविधि भइरहेको बताइन्। त्यसको सामना गर्न पार्टीका नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने उनको भनाइ थियो।

‘गिरिजाबाबुको पालादेखि नै कांग्रेसविरुद्ध षड्यन्त्र हुँदै आएको छ। आज पनि नेपाली कांग्रेसलाई कमजोर बनाउने खेल भइरहेको छ,’ उनले भनिन्, ‘त्यसकारण हामी सतर्क हुन आवश्यक छ। त्यस्ता खेल र षड्यन्त्रलाई चिर्न हामी एकजुट हुनुपर्छ।’

 

कोइरालाले पार्टीभित्रको विवाद समाधानका लागि एकता महाधिवेशन गर्नुपर्ने धारणा पनि राखिन्। एकता कायम गर्न दुवै पक्षले लेनदेन र समझदारीको भावनाबाट अघि बढ्नुपर्ने उनको भनाइ छ।

सभापति थापाको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै उनले युवा नेतृत्वले पार्टी सम्हाल्न सक्छ कि सक्दैन भन्ने आफ्नो पुरानो आशंका हटेको बताइन्।

‘बाहिरबाट हेर्दा म अहिले सभापति गगन थापाको प्रशंसक हुँ। उहाँले यति राम्रोसँग कांग्रेसलाई हाँकेर लैजानुहुन्छ भन्ने मलाई लागेको थिएन,’ उनले भनिन्, ‘तर अब मलाई गगन थापामाथि पूरा विश्वास छ। यो पार्टीलाई हाँकेर लैजाने तागत उहाँमा रहेछ।’

महामन्त्री विश्वप्रकाश शर्मासहितका पदाधिकारीले पनि थापालाई सहयोग गरिरहेको उनले बताइन्। पछिल्लो राजनीतिक परिस्थितिका कारण कांग्रेसभित्र केही असहज अवस्था देखिए पनि त्यसलाई मिलाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

स्थानीय र प्रदेश निर्वाचन नजिकिँदै गएको उल्लेख गर्दै कोइरालाले पार्टीको सदस्यता विस्तार, संगठन सुदृढीकरण र कार्यकर्ता परिचालनमा ध्यान दिन नेतृत्वलाई आग्रह गरिन्।

उनले देउवा पक्षलाई लक्षित गर्दै एउटा पक्षले सबै कुरा त्याग्ने र अर्को पक्षले आफ्नो इगो कायम राख्ने अवस्था स्वीकार्य नहुने बताइन्।

‘एउटा पक्षले सबै छाड्ने र अर्को पक्षले इगो राखेर जाने कुरा सहन सकिँदैन,’ उनले भनिन्।

देउवाले पनि पार्टी एकताका लागि धेरै कुरा छाडेको र सभापति थापा पनि लचिलो बनेको उल्लेख गर्दै कोइरालाले दुवै पक्षले थप समझदारी गर्नुपर्ने बताइन्।

पदका लागि संघर्ष गर्नुभन्दा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले आफ्नो पुस्ताका नेताहरूले अब अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताइन्।

‘अहिले हामी पदका लागि नलडौँ। यो पदलाई बिर्सिएर हामीले युवाहरूलाई नेतृत्वमा बढाउनुपर्छ। हाम्रो उमेरका पाका कांग्रेसीहरू अब अभिभावक भएर बस्नुपर्छ,’ उनले भनिन्।

कांग्रेस पुनः शक्तिमा फर्किन सक्ने दाबी गर्दै कोइरालाले पार्टीप्रति युवाको आकर्षण बढिरहेको बताइन्। आगामी पाँच वर्षमा कांग्रेसले थप उचाइ हासिल गर्दै बहुमत प्राप्त गर्न सक्ने उनको विश्वास थियो।

‘हामी फेरि शक्तिमा फर्किन्छौँ। बहुमत ल्याउन सक्छौँ,’ उनले भनिन्।

पार्टी एकताका लागि त्याग, समझदारी र सम्झौताको वातावरण बनाउनुपर्ने सन्देश दिन आफू केन्द्रीय कार्यसमिति बैठकमा आएको कोइरालाले स्पष्ट पारिन्। नयाँ पुस्ताको नेतृत्वमा कांग्रेसलाई थप बलियो बनाएर अघि बढाउनुपर्ने उनको जोड थियो।

प्रतिक्रिया